यही फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याउने उद्घोष गरिरहेको बेला पार्टीका दर्जनौँ नेताले लगातार पार्टी छोड्दै गएका छन् । पछिल्लो समय पार्टी छोड्ने र राजीनामा दिने लहरले पार्टीको संगठनात्मक कमजोर बन्दै गएको र यसले निर्वाचन जित्ने तथा देशकै ठूला पार्टी बन्ने सम्भावना क्षण हुँदै गएको छ ।
मकवानपुर जिल्लाको पार्टीका संस्थापक अध्यक्ष भरतप्रसाद पराजुलीले पार्टी छाडेर पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पराजुलीले २०७९ को निर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएका थिए । टिकट वितरण प्रक्रिया र नेतृत्व निर्णयप्रति असन्तुष्टि जनाउँदै उनी कांग्रेसमा प्रवेश गरेका छन्।
पार्टीबाट टिकट वितरणमा पक्षपात भएको आरोपसहित डाक्टर प्रणयशम्शेर राणाले पार्टी छोडिसकेका छन् । राणा काठमाडौँ–५ बाट रास्वपाको टिकटमा चुनाव लड्ने अपेक्षामा थिए । उनले पार्टी भित्र पारदर्शिता र आन्तरिक लोकतन्त्रको कमी रहेका कारण राजीनामा दिएको बताएका छन् ।
त्यस्तै बागमती प्रदेशका उपाध्यक्ष दिनेश हुमागाईले पनि पार्टी छाड्ने घोषणा गरेका छन्। उनले नेतृत्वमाथि ‘नीतिगत विचलन’ र ‘तल्लो तहका कार्यकर्तालाई सेवकजस्तै व्यवहार”’ गरिएको आरोप लगाएका छन्। त्यस्तै मधेश प्रदेशकी संस्थापक प्रदेश अध्यक्ष ममता शर्माले पनि पार्टी छाडेर नेपाली कांग्रेसमा आबद्ध भएकी छन्। यसैगरी केन्द्रीय आर्थिक विभागका सदस्य दिनेश आचार्यले पनि पार्टी छाड्दै पारदर्शिता र जवाफदेहिताको अभाव पार्टीमा रहेको आरोप लगाएका छन् ।
यसरी नेताहरुले राजीनामा दिन थालेपछि पार्टीभित्र आन्तरिक असन्तुष्टि, निर्णय प्रक्रियामा पक्षपात र सदस्यहरूको योगदानको अवमूल्यनजस्ता मुद्दालाई सतहमा ल्याएको छ। कतिपय नेताहरूले पार्टी समर्थकहरूले अपेक्षा गरेभन्दा फरक शैली अपनाइएको आरोप पनि लगाएका छन् । गत आइतबारबाट एकै दिन २८ जना नेताले पार्टी छोडेको घोषणा गरेका थिए ।
यसरी निर्वाचन नजिकिँदै गर्दा रास्वपाको संगठनात्मक सुदृढता र एकताको पोर्टफोलियोमा चुनौती थपिएको विश्लेषकहरूको धारणा छ। पार्टीले बलियो र नयाँ शक्तिका रूपमा उदाउँने अपेक्षा गरिरहेको युवा र शहरका मतदातालाई पनि पार्टी छोड्ने र पश्चिमाको वकालात गर्दै हिँड्ने नेताहरुको कार्यशैलीले चिन्तित बनाउन थालेको पाइन्छ ।
पार्टी नेतृत्वले भने यस्ता बहिर्गमनलाई सामान्य राजनीतिक प्रक्रिया र संगठन शुद्धीकरणको रूपमा व्याख्या गर्दै आएको छ। तर, धेरै चरणका राजीनामा र नाम प्रकाशित हुँदा पार्टीमा एकता कायम गर्न चुनौती बढेको विश्लेषकहरू बताउँछन्। आगामी निर्वाचनमा रास्वपा आफ्नो ‘वैकल्पिक शक्तिको छवि कायम राख्न सफल हुन्छ कि आन्तरिक अस्थिरताले प्रत्यक्ष रूपमा मत परिणामलाई असर गर्छ—यसको परीक्षण मतपेटिकाले गर्नेछ।
काठमाडौंका मेयर बालेन साह रास्वपामा प्रवेश गरेपछि हौसिएका पार्टी कार्यकर्ता अब भने ठूलो पार्टी भन्दा पनि तेस्रो पार्टी पनि नबन्ने कि भन्ने चिन्ता व्यक्त गर्न थालिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्