Advertisement GIF
चीनको ल्हासामा नेपाली रेष्टुरेन्ट : नेपाली स्वाद अब तिब्बतको मुटुमा

चीनको ल्हासामा ‘नेपाली रेष्टुरेन्ट’ नामबाट रेष्टुरेन्ट उद्घाटन गरिएको छ। नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र प्रोपाइटर ल्होसोङले संयुक्त रूपमा रेष्टुरेन्टको उद्घाटन गर्नुभएको हो।

विन्हे पार्कस्थित कुजिलिन स्क्वायरमा रहेको उक्त रेष्टुरेन्ट ल्हासा नेपाल क्याटरिंग म्यानेजमेन्ट कम्पनीद्वारा व्यवस्थापन गरिएको हो। कार्यक्रममा सयौं स्थानीय नागरिकको उपस्थिति थियो।

रेष्टुरेन्टको सजावट नेपाली परम्परागत शैलीमा गरिएको छ। उपस्थित पाहुनाहरूलाई थकाली थाली सेटमार्फत स्वागत गरिएको थियो। कास वा चरेसको थाल, बटुका, काँटा–चम्चाको प्रयोग गरी नेपालीपन झल्काइएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली तथा चिनियाँ कलाकारहरूले नेपाली र तिब्बती गीतसंगीत र नृत्य प्रस्तुत गरेका थिए। रेष्टुरेन्टमा नेपाली कामदारहरूलाई समेत रोजगारी प्रदान गरिएको जानकारी दिइयो।

उद्घाटन कार्यक्रममा महावाणिज्यदूत निरौलाले नेपाल र चीन तथा विशेषतः तिब्बतबीच युगौं पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। उहाँले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ रहेको र नेपाली व्यवसायीहरू धेरै अघिदेखि तिब्बतका विभिन्न स्थानमा व्यापार–व्यवसाय गर्दै आएको बताउनुभयो।

चिनियाँ व्यवसायीहरू पनि नेपालमा सक्रिय रूपमा व्यवसाय गर्दै आएको उल्लेख गर्दै उहाँले यस्ता गतिविधिले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। ल्हासामा नेपाली रेष्टुरेन्ट तथा अन्य नेपाली व्यवसायहरू सञ्चालनमा रहेको र काठमाडौंमा चिनियाँ रेष्टुरेन्टहरू राम्रोसँग चलिरहेको उदाहरण दिँदै उहाँले दुवै देशका नागरिकबीच खानपिन, रीतिरिवाज र संस्कृतिमा केही समानता रहेको धारणा राख्नुभयो।

ल्हासा नेपाल क्याटरिंग म्यानेजमेन्ट कम्पनीद्वारा सञ्चालित उक्त रेष्टुरेन्ट सफल हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो। कार्यक्रमको अन्त्यमा प्रोपाइटर ल्होसोङले उद्घाटनका लागि महावाणिज्यदूत निरौलालाई धन्यवाद दिँदै यस्ता प्रयासले नेपाल–चीन सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो। रेष्टुरेन्टमार्फत प्रामाणिक नेपाली स्वाद पस्किने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो।

प्रोपाइटर ल्होसोङ निगाले ‘तारा रग्स उद्योग’का नाममा काठमाडौं महानगरपालिका–६, तीनचुलीमा तीन दशकदेखि गलैंचा उद्योग सञ्चालन गर्दै आउनुभएको छ।