Advertisement GIF
फाल्गुन १५ शुक्रबार, ९:३३ पूर्वाह्न

एसिया युनियनको आर्थिक साझेदारी प्रस्तावले २०४५ सम्ममा संसारको शक्तिशाली आर्थिक केन्द्र बन्ने सम्भावना राख्छ। नेपाल राजनीतिक हिसाबले संक्रमणकालीन अवस्थामा रहेको छ। यहीँ बेला हामीले विश्व राजनीति मंचमा भूमिका खेल्न सक्यौँ भने देशले राजनीतिक कोर्स परिवर्तन गर्नेछ। नेपाल र नेपालीले चाहेको आर्थिक रूपान्तरणको लक्ष्य समेत पूरा हुनेछ।

नेपाल आज एसियाली देशहरू मध्ये राजनीतिक र भौगोलिक हिसाबले निर्णायक मोडमा उभिएको छ। एकातिर—आयातित ज्ञान सत्ताको निरन्तरता, अर्कोतिर—स्वदेशवादी चेतनाको पुनर्जागरण। यही बेला जराबाट नै सुरु भएको छ। अब प्रश्न दलको होइन, विचार र योजनाको हो। जुन दल स्वदेशवादी अभियानको विचार–जगबाट जन्मिन्छ, जसले भूराजनीति बुझ्छ, सभ्यता चिन्छ र राज्यलाई केवल सत्ता होइन, दायित्व ठान्छ—त्यही दल र विचारले मात्र देशलाई निकास दिन सक्छ।

शक्ति संघर्ष निर्दयी हुन्छ। यदि हामीले अझै पनि भावनामा, भ्रममा र दलगत अन्धतामा निर्णय गरिरह्यौँ भने—भाद्र २३–२४ केवल झलकमात्र सावित हुनेछ। आफ्नो कुण्डलिनी बिर्सने राष्ट्रहरू इतिहासबाट मेटिन्छन्। संसारभर राजनीतिले यसरी नै आफ्नो कोर्स परिवर्तन गरिरहेको छ। इतिहासले फेरि मौका दिँदैन।

– लाजेहाङ

सिंगो युरोपियन युनियन (इयु) जहाँ विश्व इतिहासका सबैभन्दा शक्तिशाली साम्राज्यहरू ग्रेट ब्रिटेन, फ्रान्स, जर्मनी, बेल्जियम, पोर्चुगल, स्पेन र इटली सदस्य छन् । यी देशमा राजनीतिक शक्ति तीव्र ध्रुवीकरणको अवस्थामा छ । आज चीन–अमेरिका महाशक्ति संघर्षको दबाबबाट जोगिन भारतसँग रणनीतिक सहारा खोज्दै छ। यो त यथार्थको स्वीकारोक्ति हो। विश्व अब आदर्शवादले होइन, रणनीतिक बुद्धिले चलिरहेको छ।

जब विश्वकै सबैभन्दा परिपक्व शक्ति–ब्लक आफ्नो सन्तुलन सुरक्षित गर्न पुनःसमायोजनमा लागेको छ, त्यही समयमा नेपालजस्तो संवेदनशील भूराजनीतिक स्थानमा रहेको राष्ट्र अझै पनि राष्ट्रवाद, दलगत अन्धता र “हामी त निरपेक्ष छौँ” भन्ने भ्रममा अल्झिरहनु खतरनाक संकेत हो। प्रश्न सीधा छ—यदि नेपालले अब पनि सुझबुझ प्रयोग गरेन भने परिणाम के हुनेछ ?

इतिहासले यस प्रश्नको उत्तर पटक–पटक दिएको छ। साना राष्ट्रहरूलाई पहिले अस्थिर बनाइन्छ, त्यसपछि विभाजित र अन्ततः नियन्त्रित। आजको विश्वमा कसैले ट्याङ्क पठाएर देश कब्जा गर्दैन। आजको कब्जा सूचना, अर्थतन्त्र, राजनीति र आन्तरिक द्वन्द्वमार्फत हुन्छ।

भाद्र २३ र २४ गते — संयोग कि संकेत ?
भाद्र २३—रगत बग्यो। भाद्र २४—राज्य र जनताको सम्बन्ध चिरियो। यी घटना “अचानक” भएका थिए ? कि ठूला शक्ति–संघर्षका टेक्टोनिक कोल्याप्सको झट्का थियो ? के हामी यति छिटो बिर्सन सक्छौँ ? भूराजनीतिमा महाशक्तिहरू चेतावनी दिँदैनन्—संकेत दिन्छन्। भाद्र २३ र २४ त्यही संकेत थियो। ती घटना कुनै एउटा आन्दोलन, कुनै एउटा समूह वा कुनै एउटा नेतामा सीमित थिएनन्। नेपालजस्तो संवेदनशील राष्ट्रमाथि बढ्दै गएको बाह्य दबाब, आन्तरिक भ्रम र वैचारिक खोक्रोपनको प्रतिफल थियो। आयातित ज्ञान सत्ताका लम्पटहरूका लागि मौकासहितको संकेत थियो।

आजको निर्मम प्रश्न, गल्ती कसको भन्ने हुँदै होइन। प्रश्न यो हो—हामीले के पाठ सिक्यौँ ? कि फेरि बिर्सियौँ ? किनभने इतिहासले बारम्बार मौका दिँदैन।

भ्रम र यथार्थ
नेपालले लामो समयदेखि “निरपेक्ष परराष्ट्र नीति” को भाषा प्रयोग गर्दै आएको छ। तर यथार्थ के हो भने आजको विश्वमा निरपेक्षता भन्ने कुरा केवल कागजमा मात्र बाँकी छ। भूराजनीति तथ्य, शक्ति र हितको खेल हो। इयु भारततिर झुक्नुको अर्थ यही हो।

विश्व अब नैतिकताले होइन, रणनीतिक हितले चलिरहेको छ। चीन–अमेरिका द्वन्द्व अब व्यापार युद्धमात्र रहेन, यो प्रविधि, आपूर्ति शृङ्खला, ऊर्जा, सुरक्षा र प्रभाव–क्षेत्रको संघर्ष हो। यस्तो अवस्थामा नेपालजस्तो देश यदि आफ्नो स्थान, आफ्नो शक्ति र आफ्नो सीमा बुझ्न चुक्यो भने, ऊ कसैको रणभूमि, कसैको प्रयोगशाला बन्नेछ।

आयातित ज्ञान सत्ताको असफलता
नेपालको सबैभन्दा ठूलो समस्या बाह्य दबाव मात्र होइन, आन्तरिक वैचारिक खोक्रोपन हो। नयाँ होस् वा पुरानो—दुवै खाले राजनीतिक दलहरू आयातित ज्ञान सत्ताको जगमा उभिएका छन्। कहिले पश्चिमी उदारवाद, कहिले क्रान्तिकारी मोडेल, कहिले विकासको नाममा नक्कल, कहिले अनुदानको राजनीतिक स्वार्थ—तर जे नाममा नयाँ वा पुरानो दलहरू प्रयोग भए पनि नेपालको आफ्नै सभ्यतागत आत्मा भने छैन।

यो निर्वाचन निकास होइन। चुनावले अनुहार फेर्छ, दिशा फेर्दैन। किनभने दिशा तय गर्ने वैचारिक आधार नै गलत छ। जब राज्य–व्यवस्था नै विदेशी अवधारणाको नक्कलमा आधारित हुन्छ, तब सार्वभौमसत्ता कागजीमात्र रहन्छ। यो निर्मम समीक्षा पनि हो र एउटा सरकार फेरेर अर्को सरकार बनाउँदैमा संक्रमणकाल तार्किक निष्कर्षमा पुग्दैन। अतः अस्थिरता र कुशासन यथावत् रहन्छ, नवयुवाको बलिदानी त्यसै खेर गएको बुझिन्छ।

सनातन प्रज्ञा र स्वदेशवादी विचार
नेपालको स्वदेशीय शक्ति उसको सभ्यताको जग हो। स्वदेशी सनातन प्रज्ञाको जगमा—बौद्ध समाजको करुणा, वैदिक समाजको ऋत–बोध, मुन्धुमी रैथाने समाजको स्वशासन र प्रकृति–केन्द्रित चेतना—यी कुनै संग्रहालयका वस्तु होइनन्। यी जीवित ज्ञान प्रणाली हुन्।

यही ज्ञानको जगमा उभिएको राज्यमात्र बाह्य दबाबका बीच पनि आत्मनिर्भर र सन्तुलित रहन सक्छ। स्वदेशवादी राज्य–व्यवस्था भन्नुको अर्थ आत्म–केन्द्रित एकान्तवाद होइन। यसको अर्थ आफ्नो वैचारिक कर्नर सुरक्षित गरेर विश्वसँग सम्बन्ध राख्नु हो। आफ्नो निर्णय आफैँ गर्ने क्षमता विकास गर्नु हो। आफ्नो समाज, अर्थतन्त्र र राजनीतिलाई बाह्य स्क्रिप्टबाट होइन, आफ्नै सभ्यताको जगमा उभ्याउनु हो। आफ्नो ज्ञान सत्तामा उभिनु हो। पर–शासनबाट स्व–शासनतिर पुनर्स्थापित हुनु हो। पर–निर्भरबाट आत्मनिर्भर हुनु हो।

अब विकल्प के ?
एसियाली युनियनको अवधारणा—युरोपेली संघजस्तै—एसियाली देशहरूबीचको एक शक्तिशाली आर्थिक संगठन बनाउने हाम्रो लक्ष्य र उद्देश्य हुनुपर्दछ।

एसिया युनियनको आर्थिक साझेदारी प्रस्तावले २०४५ सम्ममा संसारको शक्तिशाली आर्थिक केन्द्र बन्ने सम्भावना राख्छ। नेपाल राजनीतिक हिसाबले संक्रमणकालीन अवस्थामा रहेको छ। यहीँ बेला हामीले विश्व राजनीति मंचमा भूमिका खेल्न सक्यौँ भने देशले राजनीतिक कोर्स परिवर्तन गर्नेछ। नेपाल र नेपालीले चाहेको आर्थिक रूपान्तरणको लक्ष्य समेत पूरा हुनेछ।

नेपाल आज एसियाली देशहरू मध्ये राजनीतिक र भौगोलिक हिसाबले निर्णायक मोडमा उभिएको छ। एकातिर—आयातित ज्ञान सत्ताको निरन्तरता, अर्कोतिर—स्वदेशवादी चेतनाको पुनर्जागरण। यही बेला जराबाट नै सुरु भएको छ। अब प्रश्न दलको होइन, विचार र योजनाको हो। जुन दल स्वदेशवादी अभियानको विचार–जगबाट जन्मिन्छ, जसले भूराजनीति बुझ्छ, सभ्यता चिन्छ र राज्यलाई केवल सत्ता होइन, दायित्व ठान्छ—त्यही दल र विचारले मात्र देशलाई निकास दिन सक्छ।

शक्ति संघर्ष निर्दयी हुन्छ। यदि हामीले अझै पनि भावनामा, भ्रममा र दलगत अन्धतामा निर्णय गरिरह्यौँ भने—भाद्र २३–२४ केवल झलकमात्र सावित हुनेछ। आफ्नो कुण्डलिनी बिर्सने राष्ट्रहरू इतिहासबाट मेटिन्छन्। संसारभर राजनीतिले यसरी नै आफ्नो कोर्स परिवर्तन गरिरहेको छ। इतिहासले फेरि मौका दिँदैन।

अब प्रश्न खुला छ—के नेपालले आफ्नै स्वदेशीय प्रज्ञाको जगमा राजनीतिक कोर्स परिवर्तन गर्न सक्छ ? कि चेतावनीलाई फेरि बिर्सिनेछ ?

(लेखक स्वदेशवादी अभियानका अभियन्ता हुनुहुन्छ ।)