पाँचथरको राजनीतिक इतिहासमा लामो समयपछि एउटा नयाँ अध्याय सुरु भएको छ। झण्डै १२ वर्षसम्म जितको स्वाद चाख्न नसकेको नेपाली कांग्रेसले यसपटक आफ्नो प्रभाव फर्काएको छ।
नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ १७ हजार २ सय ३३ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका अइन्द्रसुन्दर नेम्बाङले १४ हजार ५ सय ३४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। नेकपा कम्युनिष्टका हर्कबहादुर नेम्बाङले ११ हजार ४ सय ४३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले ४ हजार १ सय ९७ मत पाए।
पाँचथरमा १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेकोमा ७० हजार ८ सय १८ मत खसेको थियो।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएसँगै पाँचथरमा कांग्रेसको पुरानो विरासत पुनर्जीवित भएको हो। यसअघि लगातार पराजयको सामना गर्दै आएको कांग्रेसका लागि यो जित केवल एउटा सिटको सफलता मात्रै होइन, जिल्लामा हराउँदै गएको राजनीतिक आधार पुनः स्थापित भएको संकेतका रूपमा हेरिएको छ।
निर्वाचन अभियानका क्रममा केरुङले विकास, पूर्वाधार विस्तार र स्थानीय समस्याको समाधानलाई मुख्य एजेन्डा बनाएका थिए। मतदाताको यही विश्वासले अन्ततः उनलाई विजयको शिखरसम्म पुर्याएको मानिन्छ । पाँचथरमा लामो समयसम्म अन्य दलको प्रभाव बढ्दै जाँदा कांग्रेस कमजोर बन्दै गएको थियो। तर यसपटक मतदाताले फेरि रुख चिन्हलाई भरोसा दिएका छन्।
प्रतिक्रिया दिनुहोस्