Advertisement GIF

पारिवारिक सम्बन्धमा गम्भीर समस्या आउँदा समाधान खोज्नुको साटो चुप लाग्ने प्रवृत्ति बढेको छ । कहिले काहीँ दम्पतीहरू कुनै कुरामा असन्तुष्ट भए पनि त्यसलाई खुल्ला रुपमा बहस गर्दैनन् । परिणाम स्वरूप मनको गाठो भित्रै बस्छ र पुनरमिलनको बाटो गुमाउँछ । धेरै मानिसहरू विवाह टुट्दा परिवारको नाम, इज्जत र प्रतिष्ठा बिग्रने महसुस गरी औपचारिक रूपमा डिभोर्स लिन चाहँदैनन् । विशेष गरी नेपालजस्तो परम्परागत समाजमा मान प्रतिष्ठा र पारिवारिक दबाबले दाम्पत्य सम्बन्धलाई टिकाइ राख्ने प्रयास गर्छन् । बच्चा, घर खर्च, आर्थिक कठिनाइ र आफन्तको हस्तक्षेपका कारण दम्पतीबीच तनाव बढ्न सक्छ । धेरै जोडीहरूले तिनलाई समाधानको रूपमा होइन, आफ्नै जीवनको बोझझैँ लिएर बस्ने गर्छन् । जसले अन्ततः मौन डिभोर्स निम्त्याउँछ । मानिसको सोच, लक्ष्य र प्राथमिकता समयसँगै बदलिन्छन् । दम्पतीको लक्ष्य उस्तै नहुँदा, साझेदारी घटेर एक्लो र अलग मानसिकता बढ्ने सम्भावना हुन्छ ।

-रमेश सुवेदी

विवाह जीवनका दुई व्यक्ति बीचको प्यारो, आत्मीय र सामाजिक बन्धन हो । तर सबै विवाहहरू सुखद र सफल रहँदैनन् । केही दम्पतीहरूबीच विवाहपछि समयक्रममा सम्बन्ध बिग्रिन थाल्छ । यस्तो अवस्थामा श्रीमान् र श्रीमतिबीच संवाद, समझदारी र भावनात्मक नजिकपन घट्छ । तर कानुनी रूपमा भने उनीहरूको सम्बन्ध कायम रहन्छ । यसलाई अहिले सम्बन्ध विशेषज्ञहरूले “मौन सम्बन्ध विच्छेद” भनेर बुझाउँने गरेका छन् ।

मौन सम्बन्ध विच्छेद भन्नाले विवाहको कानुनी संरचना त छ तर व्यवहारिक रूपमा दम्पतीबीच प्रेम, साझेदारी र सामान्य संवाद प्रायः बन्द भएको अवस्था हो । कतिपय जोडीमा साधारण बोलचाल समेत हराइसकेको हुन्छ । भएको भए पनि साधारण, अनौपचारिक र आवश्यक कुरामा मात्र सीमित हुन्छ । एकै घरमा बसे पनि तिनीहरूको अन्तरमन एकअर्काप्रति आकषित भएको भने हुँदैन । यस्तो विवाहलाई बाहिरका मानिसहरूले समयको साथसाथै सधैं ठिक हुने मान्ने गर्छन् । तर वास्तविकता भने फरक हुन्छ ।

आजको जीवनशैली र पारिवारिक संरचनाले गर्दा मौन सम्बन्ध विच्छेद बढ्दो समस्या बनेर आएको देखिन्छ । धेरै मानिसहरू पारिवारिक दबाब, बच्चाको भविष्य, सामाजिक प्रतिष्ठा वा आर्थिक आवश्यकताका कारण विवाह तोड्न चाहँदैनन् । तर भित्रभित्रै उनीहरू भावनात्मक रूपमा अलग–अलग जीवन बिताइरहेका हुन्छन् ।

मौन सम्बन्ध विच्छेद बोलचालको कमीबाट सुरु हुन्छ । विगतमा दम्पतीबीच दैनिक सामान्य कुराकानी, रमाइला पलका बारेमा कुरा, एकअर्काका भावना बुझ्ने प्रयास र साझा योजना बन्थेँ । मौन सम्बन्ध विच्छेदमा ती सबै कम वा बन्द भइसकेका हुन्छन् ।

त्यसपछि भावनात्मक दूरी बढ्दै जान्छ । दम्पतीबीचको विश्वास, अपेक्षा र भावनात्मक सम्बन्ध घट्छ । जसले दूरी मात्र होइन सम्बन्धको आधार नै कमजोर बनाउँछ ।दम्पतीहरू पारिवारिक काम भन्दा अरू कुरामा व्यस्त हुन थाल्छन् ।  जसले सम्बन्धभित्रको दाइत्वलाई कमजोर पार्छ । भविष्यका योजनाहरूमा सहकार्य हुँदैन । यसले वैवाहिक जीवनलाई केवल घर चलाउने र काम विभाजन गर्ने स्तरमा मात्र सिमित बनाउँछ ।

यी लक्षणहरूले एउटा यस्तो अवस्था बनाउँछन् कि जहाँ कानुनी रूपमा विवाह कायम छ तर श्रीमान् श्रीमती बिचको भावनात्मक सम्बन्ध चाहिँ मरेको मान्न सकिन्छ । यो खालको सम्बन्धका बारेमा समाजशास्त्री र मनोवैज्ञानिकहरूले धेरै कारणहरू पहिचान गरेका छन् । सबैभन्दा ठूलो कारण आजको व्यस्त जीवनशैली हो । दम्पतीहरू करिअर, कामको तनाव र दैनिक जीवनको व्यस्तता बीच आफ्ना सम्बन्धलाई समय दिन सक्दैनन् । बिहान जुट्ने, राति फर्कने, परिवारको जिम्मेवारीमा समय बिताउने क्रमले भावनात्मक संवादलाई निरन्तर कमजोर बनाउँछ ।

पारिवारिक सम्बन्धमा गम्भीर समस्या आउँदा समाधान खोज्नुको साटो चुप लाग्ने प्रवृत्ति बढेको छ । कहिले काहीँ दम्पतीहरू कुनै कुरामा असन्तुष्ट भए पनि त्यसलाई खुल्ला रुपमा बहस गर्दैनन् । परिणाम स्वरूप मनको गाठो भित्रै बस्छ र पुनरमिलनको बाटो गुमाउँछ । धेरै मानिसहरू विवाह टुट्दा परिवारको नाम, इज्जत र प्रतिष्ठा बिग्रने महसुस गरी औपचारिक रूपमा डिभोर्स लिन चाहँदैनन् ।

विशेष गरी नेपालजस्तो परम्परागत समाजमा मान प्रतिष्ठा र पारिवारिक दबाबले दाम्पत्य सम्बन्धलाई टिकाइ राख्ने प्रयास गर्छन् । बच्चा, घर खर्च, आर्थिक कठिनाइ र आफन्तको हस्तक्षेपका कारण दम्पतीबीच तनाव बढ्न सक्छ । धेरै जोडीहरूले तिनलाई समाधानको रूपमा होइन, आफ्नै जीवनको बोझझैँ लिएर बस्ने गर्छन् । जसले अन्ततः मौन डिभोर्स निम्त्याउँछ । मानिसको सोच, लक्ष्य र प्राथमिकता समयसँगै बदलिन्छन् । दम्पतीको लक्ष्य उस्तै नहुँदा, साझेदारी घटेर एक्लो र अलग मानसिकता बढ्ने सम्भावना हुन्छ ।

नेपालमा मौन सम्बन्ध विच्छेदको रूप
नेपालमा वैवाहिक जीवन, सम्बन्ध र पारिवारिक मूल्यहरूमा ठूलो परिवर्तन आएको छ । शहरीकरण, शिक्षा, जागिर अवसर र सामाजिक सञ्जालले मानिसहरूको सोचमा प्रभाव पारेको छ ।

महिलाको आर्थिक स्वतन्त्रता बढेको छ । परिवारभन्दा बाहिरी समाजसँग बढी समय बिताइन्छ । यसको प्रत्यक्ष असर दम्पतीबीच आन्तरिक जीवनमा पर्न जान्छ । जव एक आपसलाई दिइने पर्याप्त समय र संवादमा कमी आउँछ तब सम्बन्ध दुवैको नजरमा “जैविक आवश्यकतामात्र” जस्तै देखिन थाल्छ । अझ नेपालमा वैदेशिक रोजगारीका कारण श्रीमान् र श्रीमती लामो समय देश बाहिर रहँदा आपसी सम्बन्भको दुरी अझै बढ्न जान्छ । प्रारम्भमा दूरिवर्ती संचार (फोन, भिडियो कल) मार्फत समायोजन गरिए पनि समयसँगै संवाद घट्छ र भावनात्मक दूरी बढ्छ ।

नेपालमा सम्बन्ध विच्छेदका यस्ता सङ्केत समुदायमा व्यापक रूपमा छलफल भइरहेको छ । तर त्यसलाई मौन सम्बन्ध विच्छेद भनेर ठाँउ–ठाँउ मान्यता मिल्न अझै बाँकी छ । धेरै जोडीहरू सामाजिक प्रतिष्ठा र परिवारको दबाबका कारण विवाहलाई जारी राख्छन् तर व्यवहारिक रूपमा सम्बन्ध अलग भएको महसुस गर्छन् । मौन सम्बन्ध विच्छेदले नकरात्मक असर धेरै तरिकाले पार्छ  : व्यक्तिगत, पारिवारिक र मानसिक रूपमा ।

सबैभन्दा ठूलो असर दुवै दम्पतीको मानसिक स्वास्थ्यमा हुन्छ। एक्लोपन, भावनात्मक असन्तुष्टता, आत्मसम्मानमा गिरावट, तनाव र डिप्रेसन जस्ता समस्याहरू बढ्ने गर्छन् । जब व्यक्ति आफूलाई सम्बन्धभित्र मात्र होइन, जीवनमै अलग महसुस गर्छ । यसले बच्चामा पनि असर पार्छ । बच्चाहरूले घरमा प्रेम, आशा र संवाद भरिएको वातावरण पाउने अपेक्षा गर्छन् । घर शान्त छ  तर भावनात्मक संवाद छैन । यस्तो खालको अबस्थामा बच्चाहरूले बुबा र आमा बिचको त्रुटिपूर्ण सम्बन्धको नमूना मात्र देख्छन् । यसले उनीहरूको आत्मविश्वास, सामाजिक व्यवहार र भावनात्मक शिक्षामा प्रभाव पार्न सक्छ ।

यसले परिवारभित्र दूरी, झगडा र असन्तुष्टि बढाउन सक्छ । दम्पतीबीच संवादको कमीले एउटै निर्णयमा नपुग्ने अवस्था आउँछ । यसले पारिवारिक सम्बन्धमा तनावपूर्ण वातावरण निम्तयााउँछ । मौन सम्बन्ध विच्छेदलाई फर्काउन सकिन्छ । सम्बन्ध विज्ञहरूले सम्बन्धमा पुन सुधार ल्याउन विभिन्न उपाय दिएका छन् ।  सबैभन्दा महत्त्वपूर्ण कुरा खुला संवाद हो । दम्पतीबीच भावना, अपेक्षा, चिन्ता र आवश्यकता खुला रूपमा व्यक्त गर्दा सम्बन्ध फेरि स्वस्थ बन्छ । एकआपसलाई पर्याप्त समय दिनु हो  । साझा समय, रमाइलो गतिविधि र एकअर्काको मन बुझ्ने प्रयासले सम्बन्धलाई मजबुत बनाउँछ ।

परामर्श अथवा सम्बन्ध थेरापी मा जानु एउटा उपयोगी उपाय हो । जहाँ दम्पतीहरू आफ्ना समस्या विशेषज्ञसँग साझा गरेर समाधान पाउन सक्छन् । चौथो : साझा लक्ष्य र योजना बनाउनु हो । जस्तै बच्चाका शिक्षा, घरको वातावरण वा भविष्यका योजना मिलेर बनाउने अभ्यास गर्दा सम्बन्ध स्वस्थ रहन्छ । यहाँसम्म कि सम्बन्धलाई केवल सामाजिक दबाबका लागि राख्नु भन्दा वास्तविक रूपमा प्रेम, समझदारी र समर्थनका साथ सम्बन्धलाई अघि बढाउनु बढी महत्त्वपूर्ण हुन्छ ।

मौन सम्बन्ध विच्छेद केवल कानुनी रूपमा विवाह कायम राख्ने नाम मात्र होइन ; व्यवहारिक रूपमा सम्बन्ध टुटेको अवस्था हो । यसले दम्पती, बच्चा र परिवारमा गहिरो असर पार्न सक्छ  । तर यो अन्त्य भने होइन । खुला संवाद, समझदारी, समय र परामर्शमार्फत सम्बन्धलाई फेरि मजबूत बनाउन सकिन्छ । आजको युगमा जहाँ जीवनशैली र प्राथमिकताहरू बदलिँदैछ त्यहाँ सम्बन्धको मर्म बुझ्न र भावनात्मक समझदारी कायम राख्न आवश्यक छ ।