इरानका सर्वोच्च नेता अली खामेनी अमेरिकी र इजरायली आक्रमणमा मारिएपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ।
५६ वर्षका मोज्तबा खामेनी सार्वजनिक जीवनमा निकै कम देखिने व्यक्तिका रूपमा चिनिन्छन्। उनले अहिलेसम्म कुनै औपचारिक सरकारी पद सम्हालेका छैनन्। सार्वजनिक रूपमा भाषण दिने, सञ्चारमाध्यमसँग अन्तर्वार्ता दिने वा राजनीतिक गतिविधिमा खुला रूपमा सहभागी हुने उनको अभ्यास पनि छैन। यही कारणले गर्दा उनको व्यक्तित्वबारे बाहिर धेरै जानकारी उपलब्ध छैन।
लामो समयदेखि उनी इरानको शासन व्यवस्थाभित्र पर्दापछाडिबाट प्रभाव पार्ने व्यक्तिका रूपमा चिनिँदै आएका थिए। विभिन्न कूटनीतिक कागजात र अन्तर्राष्ट्रिय विश्लेषणहरूमा उनलाई इरानी सत्ता संरचनामा प्रभावशाली र कडा स्वभावका व्यक्तिका रूपमा उल्लेख गरिएको पाइन्छ।
इरानको राजनीतिक वृत्तमा मोज्तबा खामेनीलाई विशेष गरी सुरक्षा निकाय र धार्मिक संरचनाभित्र बलियो प्रभाव राख्ने व्यक्तिका रूपमा हेरिन्छ। विश्लेषकहरूका अनुसार उनी इरानको शक्तिशाली इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) भित्र पनि प्रभाव राख्ने व्यक्तिका रूपमा चिनिएका छन्।
मोज्तबाको सर्वोच्च नेतामा चयन हुनु भने विवादरहित विषय भने होइन। सन् १९७९ को इस्लामिक क्रान्तिपछि स्थापित इरानी इस्लामिक गणतन्त्रको सिद्धान्त अनुसार सर्वोच्च नेता वंश परम्पराका आधारमा चयन गरिनु हुँदैन। बरु धार्मिक ज्ञान, प्रतिष्ठा र नेतृत्व क्षमताका आधारमा चयन गरिनुपर्ने व्यवस्था छ।
यही कारणले गर्दा अली खामेनीको निधनपछि उनका छोरालाई सर्वोच्च नेतृत्वमा ल्याइएको निर्णयलाई कतिपय विश्लेषकहरूले राजनीतिक वंशवादको संकेतका रूपमा पनि हेरेका छन्।
मोज्तबा खामेनीले धार्मिक शिक्षा कुम शहरका इस्लामिक अध्ययन केन्द्रहरूमा हासिल गरेका छन्। उनी शिया धर्मगुरुहरूको प्रशिक्षण प्रणालीभित्र शिक्षित भएको बताइन्छ। तर, इरानका प्रभावशाली धार्मिक विद्वानहरूको श्रेणीमा भने उनको स्थानबारे मतभेद पाइन्छ।
प्रतिक्रिया दिनुहोस्