नेपालको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै क्षितिज नाट्य प्रतिष्ठान, नेपालका केन्द्रीय अध्यक्ष तथा नागरिक बचाउ दल, नेपालका पार्टी सभापति माधव कल्पितलाई भियतनाममा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
भियतनामको Da Nang Fine Arts Association ले ८ मार्च २०२६ मा Ba Na Hills मा आयोजित विशेष कार्यक्रममार्फत कल्पितलाई स्वागत तथा सम्मान गरेको हो। भियतनाममा फेब्रुअरी १७ देखि मार्च १७ सम्म मनाइने नयाँ वर्ष २०२६ को विशेष अवसरमा यो सम्मान प्रदान गरिएको कलाकार संघ भियतनामले जनाएको छ।
नेपाली साहित्य, कला तथा संस्कृतिको संरक्षण र संवर्द्धनका लागि “एक इट्टा अभियान” सञ्चालन गरी बहुजातीय सांस्कृतिक संग्रहालय सहितको सुविधा सम्पन्न झापा नाटक घर निर्माणमा पुर्याएको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ।
मलेशिया र भियतनामको एक हप्ता लामो पारिवारिक भ्रमणमा रहेका कल्पितले भ्रमणका क्रममा कला, साहित्य तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा भियतनामले अन्तर्राष्ट्रिय जगतमा पुर्याएको योगदानको प्रशंसा गर्नुका साथै विभिन्न मञ्चहरूमा नेपालको तर्फबाट सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए।
भियतनामका विभिन्न पर्यटकीय स्थलहरूमा कलाकारहरूसँग गरिएको सांस्कृतिक आदान–प्रदान तथा उनले प्रस्तुत गरेका कार्यक्रमबाट प्रभावित भियतनामी कलाकारहरूले विदाइको अवसरमा उनलाई विशेष सम्मान प्रदान गरेकोे क्षितिज नाट्य प्रतिष्ठान नेपालकी उपाध्यक्ष सुजना खतिवडाले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्