Advertisement GIF
फाल्गुन २९ शुक्रबार, ९:०९ पूर्वाह्न

गाई पाल्ने तर गाईले छोरा जन्मायो भने उसलाई घरबाट निकालिदिने अनि गाई बुढी भएपछि अब सन्तान जन्माउन सक्दिनन् भन्ने भएपछि उनलाई घरमा किन खुवाएर राख्नु भन्ने आपराधिक मनस्थिति सिर्जना गरेर बुढी गाईलाई घरबाट निकालिदिने र अंगभंग भएका र बिरामी भएका गाईबाछालाई उपचार गर्नुको सट्टा घरबाटै निकालिदिने प्रवृत्ति काठमाडौं उपत्यकाका कृषकमा हावी छ। हरेक दिन सडकमा अलपत्र गाईबाछा भेटिनु यसको परिणति पनि हो।

गाईबाछाहरू जो बोल्न सक्दैनन्, यद्यपि उनीहरूको आत्मा बोल्छ भन्ने सत्यतालाई हामीले भुल्नु हुँदैन। घरबाट निकालिएका यस्ता गाईबाछाहरू सबैभन्दा पहिले आफूलाई घर मालिकले निकालिदिएका घर खोज्नमै व्यग्र रहन्छन्। उनीहरू पागल जस्तै “बाँ–बाँ” गर्दै कराएर बस्छन्, केही खाँदैनन् र मनोगत रूपमा विक्षिप्त बन्छन्। घरबाट निकालिएका यस्ता गाई तथा बाछाहरू एक रात मात्रै खुला आकाशमुनि बस्न रहँदा पानीले भिजेर होस् या चिसोका कारण न्यूमोनियाको अत्यधिक आक्रमण रहन्छ। न्यूमोनिया भएका गाईबाछाहरू बचाउन सजिलो हुँदैन।

-उत्तम पुडासैनी

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा असहाय गाईबाछा संरक्षण अभियान एउटा पृथक सोचका साथमा सञ्चालित छ। सडकमा अलपत्र परेका गाईबाछाहरूको हक र अधिकारमा केन्द्रित रहेर सञ्चालनमा आएको यो अभियान ७ वर्षअगाडिबाट सुरु भएको हो।

यो धरतीमा सबै प्राणीहरूको अस्तित्व कायम हुनुपर्छ, धरती उनीहरूको पनि हो भन्ने सत्यताका नजिक पुगेर देशको राष्ट्रिय जनावर गाई र उनीहरूका सन्ततिले व्यहोर्नु परेका अनेक दुःख र यातना अनि उनीहरूप्रति हुने अमानवीय कृत्य अन्त्यका लागि यो अभियान केन्द्रित रहेको छ।

अभियानले गाईबाछाहरूलाई सडकमा छाड्ने प्रवृत्तिविरुद्ध जनचेतना जगाउनु हो भने यत्रतत्र अलपत्र पारिएका ती अबोध प्राणीहरूको उद्धार र उनीहरूको जीवनरक्षाका लागि आश्रयस्थलमा राख्नु हो। आजको दिनमा आश्रयस्थलमा २ सय ५२ अबोध गाईबाछाहरूले आश्रय पाइरहेका छन्, यो संख्या हरेक दिन घटबढ भइरहेका हुन्छन्। अभियानलाई नितान्त सामाजिक अभियानका रूपमा रूपान्तरण गर्दै सामाजिक उत्तरदायित्व वहन गराउने मार्गमा प्रयास गरिएको छ।’

गाई पाल्ने तर गाईले छोरा जन्मायो भने उसलाई घरबाट निकालिदिने अनि गाई बुढी भएपछि अब सन्तान जन्माउन सक्दिनन् भन्ने भएपछि उनलाई घरमा किन खुवाएर राख्नु भन्ने आपराधिक मनस्थिति सिर्जना गरेर बुढी गाईलाई घरबाट निकालिदिने र अंगभंग भएका र बिरामी भएका गाईबाछालाई उपचार गर्नुको सट्टा घरबाटै निकालिदिने प्रवृत्ति काठमाडौं उपत्यकाका कृषकमा हावी छ। हरेक दिन सडकमा अलपत्र गाईबाछा भेटिनु यसको परिणति पनि हो।

गाईबाछाहरू जो बोल्न सक्दैनन्, यद्यपि उनीहरूको आत्मा बोल्छ भन्ने सत्यतालाई हामीले भुल्नु हुँदैन। घरबाट निकालिएका यस्ता गाईबाछाहरू सबैभन्दा पहिले आफूलाई घर मालिकले निकालिदिएका घर खोज्नमै व्यग्र रहन्छन्। उनीहरू पागल जस्तै “बाँ–बाँ” गर्दै कराएर बस्छन्, केही खाँदैनन् र मनोगत रूपमा विक्षिप्त बन्छन्। घरबाट निकालिएका यस्ता गाई तथा बाछाहरू एक रात मात्रै खुला आकाशमुनि बस्न रहँदा पानीले भिजेर होस् या चिसोका कारण न्यूमोनियाको अत्यधिक आक्रमण रहन्छ। न्यूमोनिया भएका गाईबाछाहरू बचाउन सजिलो हुँदैन।

अभियान सुरु गर्दाको गाई गोठ ।

सडकमा अलपत्र पारिएका यस्ता गाईबाछाहरू अत्यधिक कुकुरको आक्रमणका शिकार हुने गर्दछन्। कुकुरको टोकाइले रेबिज जस्तो घातक रोगको शिकार भइसकेका हुन्छन्। उनीहरूको बाँच्ने सम्भावना अत्यन्तै न्यून रहन्छ।

सडकमा अलपत्र पारिएका गाईबाछाहरूले के खालान र कसले खान दिन्छ होला त? भोक सबैमा हुन्छ, तर केही खान नपाएपछि उनीहरूले खाने भनेको सडकमा असरल्ल फालिएका प्लास्टिकहरू नै हो। यसरी प्लास्टिक खाएका गाईबाछाहरू बाँच्ने सम्भावना अत्यन्तै न्यून रहन्छ।

उनीहरूले पिउने पानी कस्तो होला? कहाँ पानी पिउलान? उनीहरूमा पनि भोक र तिर्खा उस्तै हुन्छ, जस्तो मानिसमा हुन्छ। नाली, खोला र यत्रतत्र जमेका पानी पिउनु उनीहरूको बाध्यता हो। खोला–नालीमा केमिकलयुक्त पानी हुन्छ भने यत्रतत्र रहेका पानीमा खराब जीवाणु रहेका हुन्छन्। केमिकल मिसिएका पानी खाएका गाईबाछाहरूको आन्तरिक अंग करिब–करिब नष्ट भइसकेको हुन्छ भने दूषित पानीका कारण उनीहरूमा जुका र नाम्लेको आक्रमण भएको हुन्छ। यस्ता गाईबाछाहरू बाँच्ने सम्भावना अत्यन्तै न्यून रहन्छ।

सडक दुर्घटनामा मारिनु यिनीहरूको नियति नै भइसकेको छ। सडकमा अलपत्र पारिएका गाईबाछाहरू मासुका लागि तस्करहरूको आँखामा पर्ने गरेका अनेक उदाहरणका साक्षी हामी बनेका छौँ। त्यसैले उनीहरूले पनि बाँच्न पाउनुपर्छ, उनीहरूमाथि हुने क्रूरता र अत्याचारको अन्त्य हुनुपर्छ भन्ने मान्यतालाई अघि सार्दै असहाय गाईबाछा संरक्षण अभियान कार्यरत छ।

नेपालमा स्वयंसेवी अभियानको सम्भावना छ भन्ने एउटा उत्कृष्ट नमूनाका रूपमा यस अभियानले आफ्ना क्रियाकलाप अघि बढाइरहेको छ। “हामी सक्छौँ र हामीले गर्नुपर्छ” भन्ने मान्यतामा अडिग रहेर अबोध प्राणीहरूको पक्षमा निरन्तर क्रियाशील छ असहाय गाईबाछा संरक्षण अभियान।

खासगरी ती अबोध प्राणीलाई पनि माया चाहिन्छ भन्ने कुरामा सचेत रहँदै उनीहरूलाई उचित र उपयुक्त खाना, चिसो र तातोबाट मुक्ति दिलाउन आवश्यक छाना, हरेक दिन उपचारको प्रबन्ध र आफ्ना बच्चाहरूलाई जस्तै माया प्रदान गरिरहेका छौँ।

असहाय गाईबाछाहरूको आश्रयस्थललाई ज्यूँदा भगवानहरू बस्ने मन्दिर (चर्च, मस्जिद, गुम्बा) का रूपमा परिभाषित गर्ने प्रयास भइरहेको छ। प्राणीप्रति दया, माया, करुणाको भाव जगाउने प्रयास यस अभियानले गरिरहेको छ।

पूर्ण रूपमा सडकमा अलपत्र गाईबाछाहरूप्रति समर्पित यस अभियान अन्तर्गत उपत्यकाका सबै नगरक्षेत्र र उपत्यका बाहिरबाट समेत अलपत्र पारेर छाडिएका गाईबाछाहरूको उद्धार गर्दै उनीहरूको बाँकी जीवनलाई सुरक्षित र सुनिश्चित गर्ने काम भइरहेको छ।

अभियानलाई आत्मनिर्भर बनाउने उद्देश्यले संरक्षित गाईबाछाको मलमूत्रबाट कम्पोस्ट मल बनाएर बिक्री–वितरण गर्ने काम भइरहेको छ भने अर्गानिक खेती गर्दै उत्पादनमुखी कार्यमा जोड दिइएको छ। अभियान अन्तर्गत आश्रयस्थललाई गौधामका रूपमा अनुवाद गर्दै दर्शनीय स्थलका रूपमा विकास गर्ने प्रयास गरिएको छ।

अभियानलाई स्वावलम्बी बनाउने प्रयास भइरहँदा हरेक दिन हुने झण्डै २५ हजार रुपैयाँको जोहो गर्नु सामान्य कुरा होइन। मल बिक्री, जन्म दिनमा दिइने दानजस्ता आम्दानीले अभियानलाई जीवित राखेको भए पनि उनीहरूको उचित हेरचाहका लागि बाह्य स्रोतको खोजी अपरिहार्य रहेको छ। असीमित योगदान अनि सीमित स्रोतबीचको तालमेलभित्रको जटिलताले अभियानलाई अस्थिर बनाइरहेको हुन्छ।

अभियानले केही सीमित आम्दानी गर्छ । जस्तो कम्पोस्ट मल बनाउने र बिक्री गर्ने गरिन्छ, जसबाट दैनिक १० हजार रुपैयाँसम्म प्राप्त हुन्छ । साथै जन्मदिन, स्मृति दिवस तथा अन्य अवसरमा मानिसहरू आउने र सहयोग गर्ने गर्छन्।

यी गाईबाच्छालाई दैनिक रुपमा  करिव एक सय किलो पिठो, ढुटो, ५० किलो पिना, भुसा १५ बोरा, कर्मचारीलाई तलव, गाईहरुको उपचारसमेतमा दैनिक २५ हजार रुपैयाँ बढी खर्च हुने गरेको छ । यो खर्च स्थानीय मनकारीहरुले दिएको केही रकम र  अभियानले जोहो गर्दै आएको छ । दीगो स्रोत नभएर सञ्चालनमा समस्या भने भइरहेको छ ।

यी गाईबाछाहरुको सेवा ३६५ दिन नै गर्नु पर्छ । आवाजविहीनहरूको आवाज बुझ्नुपर्ने अवस्थामा चुनौतीका चाङ हुन्छन् नै। फेरि पनि कर्मप्रतिको दायित्व अनि उनीहरूलाई आफ्नै बच्चा सम्झेर कर्म गर्दा खासै चुनौती भएजस्तो लाग्दैन।

यो अभियानका अन्तरकथा र व्यथाहरू धेरै छन्। अबोध गाईबाछाहरूका पीडा र वेदनालाई कम गर्ने हरसम्भव प्रयास भइरहेको छ। सरकारी उपस्थिति शून्य प्रायः छ। विदेशी दातृ निकायसँग सहयोग लिएका छैनौँ र लिँदैनौँ। यही अभियानका कारण उपत्यकाभित्र सडकमा अलपत्र गाईबाछाहरू शून्य अवस्थामा छन्। हामी अहोरात्र उद्धारमा खटिएका छौँ।

(पुडासैनी अभियानका संस्थापक हुनुहुन्छ ।)