नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा (आज) शुक्रबारदेखि सिलसिलेवार संख्या ३३ को कमाण्ड तथा स्टाफ तालिम औपचारिक रूपमा सुरु भएको छ।
एक विशेष समारोहका बीच बलाधिकृत रथी प्रदीपजंग केसीले उक्त तालिमको शुभारम्भ गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै रथी केसीले यस तालिमले शिक्षार्थी अधिकृतहरूबीच अनुभवको आदान(प्रदान गराउनुका साथै उनीहरूलाई अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक सुरक्षा परिवेशको विश्लेषण गरी व्यावहारिक योजना निर्माण र कार्यान्वयनमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।
मध्यम तहका अधिकृतहरूको स्टाफ कार्य र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित यस तालिममा यसपटक कुल ९२ जना शिक्षार्थी अधिकृतहरू सहभागी छन्। जसमा नेपाली सेनाका ७९ जना (४ महिलासहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका १–१ जना गरी ३ जना र मित्रराष्ट्र चीन, अमेरिका, बेलायत, बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका १० जना विदेशी शिक्षार्थी अधिकृतहरू रहेका छन्।
२०४९ सालमा स्थापना भएको यस कलेजबाट हालसम्म १ हजार ५ सय ७ जना शिक्षार्थी अधिकृतहरू दीक्षित भइसकेका छन्, जसमा नेपाली सुरक्षा निकायका साथै विभिन्न राष्ट्रका १ सय ३२ जना विदेशी अधिकृतसमेत पर्दछन्। उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथी, विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, पूर्व शिक्षाध्यक्ष, प्राध्यापक, सैनिक सहचारी र शिक्षार्थीका परिवारजनको उपस्थिति रहेको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्