नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३ सोमबार (आज) शुभारम्भ भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसीले प्रतियोगिताको विधिवत् समुद्घाटन गर्नुभयो । कुल १३ वटा फरक–फरक इभेन्टहरूमा प्रतिस्पर्धा हुने यस राष्ट्रिय स्तरको प्रतियोगितामा देशका १३ वटा प्रतिष्ठित क्लबहरूबाट २ सय १८ जना उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको छ ।
टेनिस खेलको व्यावसायिक विकास र प्रवर्द्धनमा टेवा पुऱ्याउने पवित्र उद्देश्यका साथ २०७८ सालदेखि निरन्तर रूपमा सञ्चालन गरिँदै आएको यस प्रतियोगितामा यस वर्ष पनि विभिन्न उमेर समूह र विधालाई समेटिएको छ । प्रतियोगिता अन्तर्गत खुल्लातर्फ पुरुष एकल तथा युगल र महिला एकल तथा युगल विधाका खेलहरू हुनेछन् ।

यसैगरी भेट्रान्सतर्फ ३५ वर्षमाथि एकल र युगल, ४५ वर्षमाथि एकल र युगल, ५५ वर्षमाथि एकल र युगल, ६५ वर्षमाथि एकल र युगल तथा ७० वर्षमाथि एकल विधाहरू समावेश गरिएका छन्, जसले गर्दा अग्रजदेखि युवा खेलाडीहरूसम्मलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने ठूलो अवसर मिल्ने विश्वास गरिएको छ ।
यह िजेठ १२ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको आजको समुद्घाटन समारोहमा नेपाली सेनाका उच्चपदस्थ अधिकारी, नेपाल टेनिस सङ्घ तथा नेपाल ओलम्पिक कमिटीका वरिष्ठ पदाधिकारीहरू, देशका विभिन्न प्रतिष्ठित टेनिस क्लबका नेतृत्वकर्ताहरू, नेपाली सेनाका अधिकृतहरू, सञ्चारकर्मीहरू र ठूलो सङ्ख्यामा खेलप्रेमी तथा खेलाडीहरूको गरिमामय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्