Advertisement GIF
सडक सञ्जालभन्दा गाडीको संख्या अधिक : प्रति किलोमिटर गुड्छन् ६० गाडी

आर्थिक सर्वेक्षण २०८२/८३ को पछिल्लो तथ्याङ्क अनुसार नेपालभर सडकको कुल लम्बाइ १ लाख ४ हजार ९ सय ६ किलोमिटर पुगेको छ। यसैगरी, संघीय सरकारबाट निर्मित कालोपत्र सडकको घनत्व १३८ दशमलव ७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको सर्वेक्षणले देखाएको छ। भौतिक पूर्वाधारको विकाससँगै सडक सञ्जालमा सुधार आए पनि देशभर सवारीसाधनको सङ्ख्या भने त्योभन्दा निकै तीव्र गतिमा बढिरहेको तथ्याङ्कले स्पष्ट पार्छ।

हाल देशभर कुल ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन्। सडकको कुल लम्बाइ र दर्ता भएका सवारीसाधनको यो सङ्ख्यालाई तुलना गरेर हेर्दा नेपालमा प्रति किलोमिटर सडकमा औषत ६० वटा सवारीसाधन गुड्ने गरेको देखिन्छ। यसले देशको मौजुदा सडक पूर्वाधारको तुलनामा गाडीहरूको चाप निकै उच्च रहेको र विशेष गरी सहरी क्षेत्रका सडकहरूले आफ्नो क्षमताभन्दा बढी भार खेपिरहेको सङ्केत गर्दछ।

दर्ता भएका कुल सवारीसाधनमध्ये ५० लाखभन्दा बढी त मोटरसाइकल मात्र रहेका छन्, जसले कुल यातायात साधनको ठुलो हिस्सा ओगटेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको आठ महिनामा मात्र बस, मिनीबस, ट्रक, माइक्रोबस, कार र मोटरसाइकलसहित थप २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन्। सवारीसाधनको यो बाक्लो उपस्थितिका कारण देशका मुख्य राजमार्ग तथा सहरी सडकहरूमा ट्राफिक जाम र सडक सुरक्षाको चुनौती दिनानुदिन बढ्दै गएको छ।

सवारी साधनको सङ्ख्या यसरी लाखौँमा थपिँदै जाँदा त्यसको व्यवस्थापन र आधुनिक प्रविधिको जडान कार्य भने सुस्त देखिएको छ। सर्वेक्षण अनुसार यस आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५ थान स्मार्ट लाइसेन्स वितरण गरिएको छ, जससहित हालसम्म कुल ४१ लाख १४ हजार १८१ थान लाइसेन्स वितरण भइसकेको छ। अर्कोतर्फ, सवारीसाधनको आधुनिक पहिचानका लागि ल्याइएको इम्बोस्ड नम्बर प्लेटको जडान कार्य निकै सुस्त छ।

गत फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ५ हजार १ सय ८६ थान मात्र जडान हुन सकेको छ। हालसम्म देशभर कुल ८८ हजार ३ सय ४० थान मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको तथ्याङ्क छ। प्रति किलोमिटर सडकमा गाडीको चाप यसरी बढ्दै जाँदा दिगो आर्थिक विकास र सहज यातायात व्यवस्थापनका लागि सडक विस्तारसँगै ट्राफिक प्रणालीको आधुनिकीकरण र सार्वजनिक यातायातको सुदृढीकरणमा ध्यान दिनु आवश्यक देखिन्छ।