बाँचुन्जेलसम्म तछाड–मछाड गर्दै, जति लडे पनि, जति भिडे पनि अन्तिम गन्तव्य सबैको एउटै हो—मृत्यु। यो तितो सत्य हामी सबैलाई थाहा छ, तर पनि हामी भोलिको यथार्थ बिर्सिएर आजकै क्षणलाई आफ्नो मात्रै ठान्छौँ।
‘सबै खुसी मेरो भाग्यमा पर्नुपर्छ, सबै सुख मेरै पोल्टामा आउनुपर्छ’ भन्ने सोचले हामी रातदिन दौडिरहन्छौँ। आफ्नो भाग्यमा जे छ, त्यो सधैँ अपूरो लाग्छ। जति छ, त्यतिले कहिल्यै सन्तुष्टि मिल्दैन। एकपछि अर्को इच्छा र चाहनाले हामी भित्रैबाट झन् गरिब बन्दै जान्छौँ। अरूको प्रगतिको तुलनामा आफ्ना उपलब्धि सधैँ फिका लाग्छन्, र त्यही कारण हामी निरन्तर दुःख र चिन्तामा डुबिरहन्छौँ।
यी माथिका हरफहरू सबैसँग लागू नहुन सक्छन्। तर पनि, हामीजस्ता सामान्य मानिसहरूको भित्री मनबाट उब्जिने कुण्ठा र वितृष्णाका प्रतिनिधि भाव यिनै हुन्। वास्तवमा जीवन फूलजस्तै सुन्दर छ—ढकमक्क फुलेर संसारभर मीठो सुवास छर्न आएको। त्यसैले यी पलहरू चिन्ता, आक्रोश र पीडाले होइन, मन्द मुस्कानले भरिनुपर्छ। संसारलाई हराभरा बनाउने जिम्मेवारी पनि हाम्रो आफ्नै हो।
आफ्नो भाग्यमा जे छ, त्यसैमा रमाउन सिक्नुपर्छ। यदि सबैको भाग्य एउटै भएको भए, यो संसारमा कोही धनी र कोही गरिब हुने नै थिएन। त्यसैले भाग्यभन्दा पनि कर्ममा विश्वास गर्न सिक्नुपर्छ। म कुनै विद्वान् भएर यी दर्शनहरू पस्किएको होइन। जीवन भोग्दै, संघर्ष गर्दै, बाँच्दै जाँदा यस्तै अनुभूति भएको हो। जीवन केवल बसन्तको हराभरा बहार मात्र रहेनछस यो त शिशिरका उजाड पाखाहरू पनि रहेछ। कठ्याङ्ग्रिने जाडो, सुनसान रातहरू र निःशब्द पीडाहरू पनि जीवनकै अङ्ग रहेछन्।
सबैको जीवनमा दुःख, सुख, हाँसो र रोदन पल–पलमा फेरिरहन्छन्। आज म संसारकै सबैभन्दा खुसी छु, तर जीवन सधैँ यस्तै रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले आज कसैको जीवनमा दुःख र पीडा भए पनि, समयले ती घाउमा अवश्य मलम लगाउनेछ। ती पीडाहरू एकदिन फेरि घामको लालिमामा परिणत हुनेछन्, नयाँ मुस्कान छर्दै क्षितिजमा उदाउनेछन्।
त्यसैले ‘मेरो जीवनमै मात्र किन यति दुःखरु किन मेरो भाग्यमा यति पीडारु’ भन्ने प्रश्न कसैको मनमा उब्जिएको छ भने, उत्तर सरल छ—सबैको भाग्य एउटै हुँदैन। कसैको भाग्यमा खुसी हुन्छ, कसैको भाग्यमा पीडा। तर भाग्य र समय कहिल्यै स्थिर रहँदैनन्स घडीको काँटाजस्तै निरन्तर सर्दै रहन्छन्।
त्यसैले दुःखका पलहरूलाई हाँसोमा बदल्ने प्रयास पल–पलमा गरिरहनुपर्छ। सुख र खुसी केवल भौतिक साधनमा होइन, सुन्दर मनको अनुभूतिमा लुकेको हुन्छ। जब हामी जीवनलाई फूलझैँ सुन्दर दृष्टिले हेर्न सिक्छौँ, तब जीवन साँच्चै रमाइलो लाग्छ।
जीवनमा समस्या र छटपटी सबैसँग हुन्छन्। तर आफ्ना कर्महरू हिम्मतका साथ निभाउन छोड्नु हुँदैन। आफू माथिको विश्वासलाई सधैँ पहिलो प्राथमिकतामा राख्नुपर्छ। जीवनमा जति दुःख र पीडा किन नआओस्, पल–पल रमाएर बाँच्न सिक्नुपर्छ—किनकि जीवन आखिर दुई दिनको फूल नै त हो।
-इन्दिरा चोङबाङ
(हाल : अमेरिका)
प्रतिक्रिया दिनुहोस्