हिमाली क्षेत्रबारे अनुसन्धाता डा नितेश खड्काले रसुवामा चीनको लेन्दे नदीमा आएको बाढीको कारण हिमनदी फुटेको हुन सक्ने बताएका छन्। चाइनिज एकेडेमी अफ साइन्सका डा गुओक्सिओङ चेङको सहयोगमा डा खड्काले स्याटेलाइट तस्बिरहरुको अध्ययन गरी प्रारम्भिक रूपमा उक्त निष्कर्ष निकालेका हुन्।
सार्वजनिक स्याटलाइट तस्बिरमा रसुवाभन्दा उत्तरतर्फको उच्च हिमाली भेगमा ढुंगा–माटोको थुप्रोले ढाकिएको हिमनदीको सतह र भित्री भाग हुँदै पानी बगेको देखिएको छ। ‘चिनियाँ गाओफेनले लिएका स्याटलाइट तस्बिरले हिमतालको निकासी मार्ग ढुंगा र माटोले ढाकिएको देखिएको छ। प्रारम्भिक अध्ययनले यो नै रसुवामा आएको बाढिको कारण भएको देखाउँछ,’ उनले फेसबुकमा लेखेका छन्।
हिमाली क्षेत्रमा ससाना र अस्थायी तालहरू पनि हुन्छ। यस्तै अस्थायी प्रकृतिको हिमताल फुटेको हुन सक्ने डा खड्काको अध्ययनको निष्कर्ष छ। स्याटलाइट तस्बिरहरुको तुलनात्मक अध्ययन गर्दा हाल फुटेको भनिएको स्थानमा सन् २०२१ भन्दा पहिले कुनै ताल नदेखिएको तर सन् २०२२ को स्याटलाइटमा ससाना तालहरू देखिएको उनको भनाइ छ। यस्तै सन् २०२३ मा लिइएको तस्बिरमा ठूलो ताल बनिसकेको देखिएको उल्लेख गर्दै उनले भनेका छन्- ‘सन् २०२५ जुलाइ ०५ मा ताल देखिन्छ।’
जुलाई ८ मा लिइएको तस्बिरमा भने खण्डहर देखिएको छ। हिमनदीको सतह र उप-सतहबाट पानीको निकासी पनि बढी देखिएको छ। हिमताल फुट्ने र बाढी आएको कारण यस्तो भएको उनको भनाइ छ। ‘यद्यपि यो केवल प्रारम्भिक विश्लेषण हो र गहिरो अध्ययन आवश्यक छ,’ उनले भनेका छन्। चीन हुँदै आएको बाढीले नेपालतर्फ ठूलो जनधनको क्षति पुगेको छ। बुधबार मध्याह्नसम्म बाढीमा परेर २० जना बेपत्ता छन् भने ९ जनाको शव फेला परेको छ।
१० वटा राजमार्गमा यातायात बन्द छ भने रसुवा भन्सार परिसरबाट ६५ बढी गाडी भोटेकोशी नदीले बगाएको छ। भन्सार कार्यालय ठप्प छ, नेपाल र चीनको सम्पर्क भोटेकोशी पुल बगाएको कारण विच्छेद भएको छ।
प्रतिक्रिया दिनुहोस्