–डा वाशुदेवकृष्ण शास्त्री
वैदिक ऋचाहरूमा समाविष्ट आयुर्वेदिक सूत्रहरू पाइन्छन् । निरोगी रहने आयुर्दासुक्तहरू वैदिक बाङ्गमयमा प्रशस्त पाइन्छ ।
संसारकै अति प्राचीन ऋषि महर्षिहरूका खोज अनुसन्धानबाट प्रस्तौ पुस्ताको निरन्तर प्राप्ति र हस्तान्तरणले कतै मलिन, कतै चहकिलो रूपमा देखा परेको प्राकृतिक चिकित्साअन्तर्गतको आयुर्वेद आजको एक्काइसौं शताब्दीको वैज्ञानिक युगमा अति नै आवश्यक महशूस हुन थालेको छ । यही आयुर्वेदिक उपचार पद्धतिको मूल मुहान ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदमा रहेको छ ।
ऋग्वेदमा आयुर्वेदसम्बन्धि विभिन्न उपचार पद्धतिको बारेमा सूत्रात्मक रूपमा चिन्तन प्रस्तुत भएको पाइन्छ । यसमा विभिन्न औषधीहरूको लाभ, प्राणीका विभिन्न अङ्गहरूको नाम अवस्था तिनिहरूको उपचार पद्धतिका बारेमा सूत्रहरू भेटिन्छन् ।
जहाँ अग्नि चिकित्सा, वायु चिकित्सा, जल चिकित्सा, हस्तस्पर्श चिकित्सा, सूर्य चिकित्सा, शल्य चिकित्सा, यज्ञ चिकित्सा, दीर्घ आयु चिकित्सा, विष चिकित्साआदिका साथै प्राणीका शरीरमा रहेका ओज, तेज, स्वप्न, मन आदिलाई अनुकूल राख्न गरिने चिकित्साका बारेमा पद्धति फेला पर्दछन् । वेदका बारेमा भनिएको छ, सर्वज्ञानमयो हि सः ।
आयुर्वेदमा विभिन्न औषधीहरूको नाम, शारीरिक अङ्गहरूका नाम, दीर्घायुका लागि पञ्चमहाभूतको प्रयोग सम्बन्धि ऋचाहरू भेटिन्छन् । तुलनात्मक रूपमा ऋग्वेदमा भन्दा यजुर्वेदमा केही कम आयुर्वेदि सूत्रहरू फेला पर्दछन् ।
सामवेद गायनपरक वेद भएको हुनाले यसमा ऋग्वेद, यजुर्वेदको भन्दा निकै कम सूत्रहरू आयुर्वेदिक भेटिन्छन् । जहाँ आत्मज्योतिको वृद्धि, तेज, वल, दीर्घायु, सामान्य चिकित्सा आदिका बारेमा सूत्रहरू पाइन्छन् ।
अथर्ववेद वेदहरूमध्येको कान्छो वेदका रूपमा चिनिन्छ। अथर्ववेदलाई तन्त्रवेद पनि भनिन्छ । अथर्ववेद लौकिक साहित्य र तन्त्रप्रयोगको ग्रन्थका रूपमा लिइन्छ । आयुर्वेदका विभिन्न अङ्ग उपाङ्गहरूको सविस्तार वर्णन यसमा पाइन्छ । अथर्ववेदलाई आयुर्वेदको सहयोगी ग्रन्थको रूपमा बुझ्न सकिन्छ । यसमा उपचार पद्धति, आरोग्यता, विभिन्न मुद्रा, विभिन्न मानवेतर प्राणीहरूको चिकित्सा पद्धति आदिका बारेमा वर्णन गरिएको छ । अथर्ववेदको अथर्व शब्दलाई विभिन्न विद्वानहरूले आफ्ना ग्रन्थहरूमा भेषज लगाएकाछन् । अथर्ववेदलाई भेषक वेद पनि भन्न पुगेका छन् । तुलनात्मक रूपमा ऋग्वेद, यजुर्वेद र सामवेदमा भन्दा अथर्ववेदमा आयर्वेदिक सूत्रहरूका साथै राजनैतिक, आर्थिक र प्रशासनिक चिन्तन पाइन अथर्ववेदको विशिष्टता हो ।
येऽथर्वाणः तद्भषजम् (गोपथब्रा। १।३।४)
वैदिक ऋचाहरूमा आयुर्वेदका अष्टाङ्गहरू
वैदिक ऋचाहरू मूर्त वर्णनात्मक र सपाट चिन्तनका अभिव्यक्तिहरू होइनन् । यी ऋचाहरूमा कतै लाक्षणिक, कतै अमूर्त व्यञ्जनात्मक, कतै अनुमानात्मक त कतै अभिधात्मक पनि देखिन्छन् । त्यसैले वैदिक वाडमयका ऋचाहरूमा नाम अन्तर परे पनि आयुर्वेदलाई आठ अङ्गमा चर्चा गरिएको पाइन्छ । यो अष्टाङ्ग आयुर्वेदको विभाजन अत्यन्त प्राचीन मानिन्छ। प्राचीन वैद्यहरू चरक, सुश्रुत, अष्टाङ्ग हृदय आदिले यी आठ अङ्गहरूलाई विभिन्न अलगअलग नामले उल्लेख गरेका छन् ।
आयुर्वेदको अष्टाङ्ग हृदय
बाल चिकित्सा
काय चिकित्सा
शल्य चिकित्सा
विष चिकित्सा
ग्रह चिकित्सा
रसायन चिकित्सा
उध्र्वाङ्ग चिकित्सा
वृष चिकित्सा भनेर अष्टाङ्ग आयुर्वेदका बारेमा प्रस्तुति दिएका छन् ।
अर्का प्राचीन आयुर्वेदिक विद्वान् सुश्रुतले आयुर्वेदिक अष्टाङ्ग चिकित्सा पद्धतिलाई यसरी बताएका छन् ।
शल्य चिकित्सा
शालाक्य चिकित्सा
काय चिकित्सा
कौमार भृत्य
अगदतन्त्र
भूतविद्या
रसायन तन्त्र
बाजीकरण तन्त्र भनी विभाजन गरेका छन् ।
अर्का प्राचीन आयुर्वेदिक विद्वान् चरकले आफ्नो चरक संहितामा आयुर्वेदिक अष्टाङ्ग चिकित्सा पद्धतिका बारेमा निम्नानुसार व्याख्या गरेका छन् ।
काय चिकित्सा
शालाक्य चिकित्सा
शल्यापहर्तक
विषगर –वैरोधिक– प्रशमन (अगद तन्त्र)
भूतविद्या
कौमार भूत्य
रसायन
बाजीकरण
चरकले चरक संहितामा उल्लेख गरेका छन् ।
यो जसको स्रोत विभिन्न वैदिक ऋचाहरू हुन् भन्ने प्रष्ट हुन्छ । नाम एकैजस्तो भए पनि यी आठ अङ्गहरूलाई निम्नानुसार समेट्न सकिन्छ । यी नै आयुर्वेदिक अष्टाङ्गहरूको चिनारी यसप्रकार प्रस्तुत गर्न सकिन्छ ।
बाल चिकित्सा
बालबालिकाहरूको जन्मकालिक अवस्थादेखि सामान्य बाल अवस्थासम्मलाई लिइन्छ । त्यस समयमा लाग्ने बालबालिका सम्बन्धी विभिन्न रोगहरूको निदानका लागि विभिन्न बाल चिकित्साका पद्धतिहरू यस अन्तर्गत पर्दछन् । यस चिकित्सा पद्धतिलाई अंग्रेजीमा एबभमष्बतचष्अत भनिन्छ । बाल चिकित्सा सबैभन्दा प्रमुख चिकित्सा हो। बाल्यकालमा नै बालकको राम्ररी हेरचाह, स्वास्थ्यको सम्बन्धमा ऋषिहरूले बालकको सर्वाङ्गिण विकासका लागि ध्यान दिनुपर्ने बताएका छन् ।
काय चिकित्सा
शरीरको विभिन्न भागमा रहेका सूक्ष्म वा स्थूल अङ्ग उपाङ्गहरूको उपचार पद्धति अन्तर्गतका विभिन्न ऋचाहरू काय चिकित्साको बारेमा समेटिएका छन् । प्राणीका शरीरमा रहेको अग्निलाई रोगको अवस्था अनुसार जठराग्निलाई प्रयोग गर्न सकिन्छ । सम्बन्धित रोगलाई भष्म पार्ने प्रयोग यस अन्तर्गत पर्दछ । यसलाई मानव शरीरभित्र रहेका र आवश्यकता अनुसार पूर्ति हुन नसकेका कतिपय बाह्य तत्त्वलाई थप गरी वा आन्तरिक तत्त्वलाई कम गरी उपचार गरिन्छ ।
विष चिकित्सा
प्राणीका शरीरमा रहेको शारीरिक आवश्यकीय तत्त्वमा कुनै कारणवश बाह्य विषतत्त्वको प्रवेश भएर अत्यन्त पीडा भएको छ र त्यसलाई कुनै बाह्य विषको प्रयोग गरी उपचार गरिन्छ भने यसलाई अंग्रेजीमा त्यहष्अययिनथ विष चिकित्सा भनिन्छ । कुनै जनावर पशुपक्षी वा उभयचर प्राणीले टोकेर मानव शरीरमा विष प्रवेश गरेको छ र त्यसलाई निदान गर्नु छ भने अन्य कडा विषको प्रयोग गरेर उपचार गरिन्छ । त्यसलाई नै विष चिकित्सा पद्धति भनिन्छ ।
ग्रह चिकित्सा
यो चिकित्सा पद्धति विभिन्न यज्ञयागादि अनुष्ठानबाट गरिन्छ । तन्त्र मन्त्र र यन्त्रको प्रयोग गरी उपचार गर्ने वैदिक, तान्त्रिक वा कर्मकाण्डीय पद्धतिलाई नै ग्रहचिकित्सा पद्धति भनिन्छ । विभिन्न आपद् विपद्बाट मुक्ति प्राप्त गर्नका लागि अदृष्य शक्तिको पूजा अर्चना गरिन्छ। यो उपचार पद्धति नेपालबाट नै संसारभरि गएको र प्रचलित भएको मान्न सकिन्छ । संसारकै प्रचलित र प्राचीन पद्धतिका रूपमा विकसित तथा विस्तारित भएको पाइन्छ। ग्रहको पूजा, हवन, तर्पण, मार्जन ग्रहको निर्धारित संख्याको जपबाट पनि रोगी व्यक्तिलाई निरोगी बनाउन सकिन्छ ।
उर्वाङ्ग चिकित्सा
मानव शरीरलाई सामान्यतया तीन भागमा वर्गीकरण गरिएको देखिन्छ ।
उध्र्वाङ्ग,
मध्याह
वाह्याङ्ग
उध्र्वाङ्ग
उध्र्वाङ्ग चिकित्सा भनेको कण्ठभन्दा माथि आँखा, कान, नाक, घाँटी आदिको उपचार गर्ने पद्धतिलाई भनिन्छ। आँखा, नाक, कान, घाँटीलाई अलग्गै उपचार गर्ने पद्धतिको विकास भएको देखिन्छ । उपचार पद्धतिमा यसलाई काय चिकित्सा अन्तर्गत नै राख्न सकिने भए पनि सुगम उपचारका लागि अलग्गै राखिएको पाइन्छ ।
शल्य चिकित्सा (चिरफार्र)
वैदिक ऋचाहरूमा अन्य चिकित्सा पद्धति जस्तै शल्य चिकित्साका बारेमा पनि सूत्रात्मक ऋचाहरू पाइन्छन् । कुनै पनि मानव वा मानवेतर प्राणीका अङ्गहरू अधिक विकसित भए, अङ्गले काम गरेनन्, प्रतिस्थापन गर्नु पर्ने भयो, अकार घटाउनु पर्ने भयो भने शल्य चिकित्सा गरेर त्यस्तो रोगको निदान गरिन्छ। यसैलाई नै शल्य चिकित्सा (चिरफार) पद्धति भनिन्छ। यसमा तीखा धारिला औजारहरूको प्रयोग गरेर प्राणीका अङ्गहरूको चिरफार गरिन्छ र शारीरिक अवस्था अनुकूलित बनाइन्छ ।
प्राणीहरू पुस्तौं पुस्तासम्म अस्तित्त्ववान भएर रहनका लागि तिनीहरूको जन्म अवश्यम्भावी रहन्छ । सन्तान दर सन्तानको परम्पराले संसारको विकास र ज्ञानलाई स्थायित्व दिएको हुन्छ। खानपान, रहनसहन र पूर्ववर्ती संस्कारका कारणले परेको प्रभावले गर्दा कतिपय मानव वा मानवेतर प्राणीहरूका सन्तान हुँदैनन् । सन्तान हुनका लागि पुसत्त्व वा शुक्रकीट र अण्डको मिलनबाट मानव शरीर निर्माण हुन्छ । यदि पुडसत्त्व वा स्त्रित्त्व कुनै एक तत्त्वको कमी भयो भने सन्ततिको प्राप्ति हुँदैन । सन्तति प्राप्त नभए यस लोकमा सुख शान्तिको प्राप्ति हुँदैन ।
अपुत्राणां किलं नास्ति स्वर्ग नैव च नैव च ।
सन्तति नहुँदा परापूर्वकालदेखि पुस्तौ पुस्ता हस्तान्तरण हुँदै आएको कूलको गौरव गाथा समाप्त हुन पुग्दछ । त्यसैले कूललाई अविच्छिन्न राख्नका लागि बीज वा अण्डजको उत्पत्ति र विकासका लागि यो वर्ष चिकित्सा पद्धतिका सूत्रात्मक ऋचाहरू वैदिक ग्रन्थहरूमा भेटिन्छन्
जरा चिकित्सा (रसायन तन्त्र)
मानव स्वभावैले असन्तुष्ट प्राणी हो। मानवको तन वृद्ध, कुश र जर्जरावस्था प्राप्त गरेको भए पनि मन त्यस्तो अवस्थाको हुँदैन । निश्चित आयुसम्म ज्ञान आर्जन गर्ने, गृहस्थ प्रवेश गर्ने, वानप्रस्थ र संन्यास आश्रमको व्यवस्था, पूर्वीय वाड्मयमा पाइन्छ। यी आश्रम अनुसार नै आयुको वर्गीकरण पनि गरिएको पाइन्छ ।
सो आश्रमजन्य आयुको व्यतिरेक भएर मानव असफल नहोस्, युवावस्थाको उमेरमा बलवद्धिले अनेकौ बाधा व्यवधान नगरोस्। मानव जीवन सरल सुगम सहज होस् भनेर वैदिक ऋचाहरूमा सूत्रात्मक चिन्तन प्रयोग गरिएको पाइन्छ। मानवलाई तन मनले सशक्त उन्नत युवावस्थाको बनाएर राख्नका लागि अनेकौ व्यायाम औषधोपचार आदिको व्यवस्था गरिएका ऋचाहरू यस अन्तर्गत समेटिएको देखिन्छ । वैदिक वाड्मयमा छरपष्ट भएर रहेका ऋचाहरूलाई प्राचीन आयुर्वेदिक वैद्यहरू सुश्रुत, अष्टाङ्ग हृदय, चरक आदिले आफ्ना ग्रन्थहरूमा वर्गीकरण गर्दै विस्तारमा विवेचना गरेका छन् ।
अनेकौँ जडिबुटी वनस्पति आदिको झोल ९रस० तयार गरी नियमित सेवन गर्नाले वृद्धपन हट्ने हुनाले यो चिकित्सा पद्धतिलाई रसायन पद्धति वा रसायन तन्त्र पनि भनेको पाइन्छ। आश्रम व्यवस्था अन्तर्गत जन्मदेखि पच्चीस वर्षसम्म शिक्षा आर्जन गर्ने, ब्रह्मचार्य आश्रम, उमेरको पच्चीसदेखि पचास वर्षसम्म गृहस्थ आश्रम भनिएको यो समयमा शरीरका अङ्गप्रत्यङ्ग दरा, खदिला प्रजनन् प्रकृया अगाडि बढाउन सामथ्र्य रहन्छन् । जीवनको महत्त्वपूर्ण समय गृहस्थ आश्रम भनिएको हो। पचास देखि पचहत्तर वर्षसम्म शरीरका अङ्गहरूले काम गर्न अमर्थ हुँदै जान्छन्। वानप्रस्थ भनिएको हो। पचहत्तरदेखि बाँचुञ्जेलसम्म सन्यास आश्रम भनिएको हो। यो समयमा चिकित्सकको अत्यन्त आवश्यक रहने भएको हुनाले आयुर्वेद चिकित्साको आवश्यकता गर्भधान संस्कारदेखि जीवन रहुञ्जेलसम्म आवश्यकता पर्दछ ।
जल चिकित्सा
प्रकृक्तिमा रहेका सम्पूर्ण वनस्पति जगत् कुनै न कुनै औषधिको रूपमा प्रयोग हुन्छन् । हावा, पानी, माटो, औषधि आदिको समिश्रणबाट चिकित्साको अतिप्राचीन पद्धतिको निर्माण भएको हो। ऋग्वेद र अवर्ववेदमा जल चिकित्सा पद्धतिका बारेमा प्रशस्त मन्त्रहरू पाइन्छन् । रुद्र र वरुण देवता जलका अग्रगण्य देवता हुन् । रुद्र दिव्य भिषक् भनिएको छ। रुद्र जल चिकित्सक हुन् । वरुण वैद्यहरूका स्वामी हुन्। सोम राजा भनेर जललाई भनिएको छ । सोम सम्पूर्ण औषधिमा विराजमान हुनुहुन्छ ।
उहाँले सम्पूर्ण रोगको निवारण गर्न सक्नुहुन्छ । जलमा विभिन्न औषधीय गुणहरू रहेका हुन्छन् । आधुनिक विज्ञानअन्तर्गत एचटुओ ९ज्द्दइ० हाइड्रोजनको मात्रादुई भाग र अक्सिजनको मात्रा एक भाग रहेको शुद्ध जल भनिन्छ । वैदिक चिकित्सा पद्धतिअनुसार वरुण, सोम र मित्रको समिश्रणबाट शुद्ध जल बन्दछ । वैदिक चिकित्सा पद्धतिमा मानव, बोट विरुवा, पशुपक्षीआदिलाई जीवनदानियी शक्ति जलबाट प्राप्त हुन्छ ।
वेदका धेरै मन्त्रहरूमा जललाई अमृत भनिएको छ । जललाई औषधीय गुण रहेको भनिएको छ। जलले शरीरलाई शक्ति प्रदान गर्दछ र सम्पूर्ण रोगहरू नाश भएर जान्छन् । सोमआदि रसलाई सेवन गर्नाले मनुष्यले दीर्घायु प्राप्त गर्दछ। जल चिकित्साको विषयमा अनुवंशानुगत रोगहरू पनि ठीक हुन्छन् । जललाई औषधीय गुणले युक्त भएको अमृत भनिएको छ। जलमा अपार शक्ति रहेको छ, जसबाट हामीले जीवन प्राप्त गर्न सक्दछौं। यहाँबाट विजुली पनि प्राप्त गर्न सक्दछौ। जलमा अपार गुण रहेको छ।
सम्पूर्ण शरीरलाई स्वस्थ राख्नका लागि जलको अति नै आवश्यक पर्दछ । हिमालवाट निस्किने जलले विशेष लाभप्रदान गर्दछ। यसले हृदयको रोगलाई ठीक पार्दछ। हिमालबाट निस्किने शुद्ध जलले मानिसलाई दीर्घायु र स्वस्थता प्राप्त हुन्छ। जलअन्तर्गत सबैभन्दा उत्तम जल हिमालबाट झरेको जललाई मानिन्छ भने वृष्टिबाट प्राप्त जललाई उत्तम औषधी भनिएको छ। जल बलवर्धक र सौन्दर्य वर्धक पनि हो। जलले मनुष्यलाई आमातुल्य सुख र शान्ति प्रदान गर्दछ। जल नै जीवनको आधार हो। यसविना मनुष्य जीवित रहनै सक्दैन। पृथिवीको गर्भबाट निस्किएको जललाई पनि शुद्ध र पवित्र मानिन्छ। जलले सम्पूर्ण शरीरभित्रको विकारलाई नष्ट गर्दछ। रोग, कष्ट, दुःख नाश गर्दछ। दिव्य गुण र तेज प्राप्त हुन्छ। अथर्ववेदमा शरीरविज्ञानको दृष्टिले आठ प्रकारका जलको विधान गरिएको छ।
भगवान् रुद्रलाई जलका आविष्कारक मानिन्छ । जल चिकित्सा यहाँ वर्णन गरिएको छ। जल चिकित्साबाट सम्पूर्ण कष्टहरू नाश हुन्छन् ।
जलचिकित्साका केही विधिहरू
चरक, सुश्रुत र वागभट्टले जल चिकित्साको बारेमा विस्तृत चर्चा गरेका छन् । पतञ्जलिले योगशास्त्रको बारेमा पनि जलको महत्त्वको बारेमा पनि वर्णन गरेका छन् । यसमा वर्षाको जल, नदीहरूको जल, समुद्रको जल, भूगर्भको जल, चिसो जल, तातो जल, पिउन योग्य जल, अपेय जल, कुवाको जलका बारेमा चर्चा गरेको पाइन्छ । वैदिक चिकित्सा पद्धति अन्तर्गत जललाई पर्याप्त रूपमा शोधन गर्न आवश्यक पर्दछ ।
रोग कस्तो प्रकारको छ। सर्वप्रथम रोगका बारेमा जान्न आवश्यक पर्दछ। बात, पित्त, कफजनित रोग हो या स्नायु, हड्डी र आन्तरिक या गुप्त कुन खालको रोग हो। रोगको सर्वप्रथम अलग अलग परीक्षण आवश्यक पर्दछ । जलमा तीन प्रकारको विशिष्ट गुणहरू प्राप्त हुन्छन् । १। रगतमा विद्यमान विकृत पदार्थलाई निकाल्ने । रगतमा घोलिएको विषलाई निष्कासन गर्ने, स्वच्छ र शुद्ध रूपमा शरीरलाई रक्तसञ्चालनमा गति प्रदान गर्ने, शीतको जलको बारेमा पनि वैदिक चिकित्सा पद्धतिमा वर्णन गरिएको पाइन्छ । कुनैऔषधीय वृक्षमा प्राप्त हुने शीतलाई पनि प्राप्त गर्न सकिन्छ । जमेको जलको बारेमापनि चर्चा पाइन्छ ।
चिकित्सा पद्धति
– यदि खुट्टा दुखेको छ अथवा पोल्छ भने चिसो पानीमा दुई चम्चा दुबोको रस, एक चम्बा, टिमुरको धुलो हालेर खुट्टा धुने ।यदि शरीरको कुनै ठाउँमा घाउ छ भने मनतातो पानीमा फिटकिरी हाल्ने र धुने । यसले घाउ सुकाउन सहयोग हुन्छ ।
– यदि पैताला चिरिन्छ अथवा फुट्दछ भने तातो पानीमा दुई चम्बा नुन, दुई चम्चा तोरीको तेल र तीन चम्बा बेसार राखेर पाँच लिटर पानीमा खुट्टा डुबाएर राख्ने ।
– यदि शरीरमा गाँठागुठी निस्किएका छन् भने तातो पानीमा एउटा कपडा चोपल्ने र त्यसलाई निचोरेर वाफ आउँदै गरेको कपडालाई गाँठोमाथि राख्ने ।
– आँखासँग सम्बन्धित समस्या छ भने खाली खुट्टा दुबो घाँसमाथि परेको शीतमा बिहान खालीखुट्टा घुम्ने गर्नुपर्दछ ।
– जलको वाफ बनाएर गरिने प्रयोगबाट शरीरभित्र रहने वात, पित्त, कफ आदिको व्यवस्थापन हुन्छ । वाफ स्नानको विधान आधुनिक चिकित्सा पद्धतिमा विधान गरिएको छ ।
– शरीरमा घाउ, फोकाफोकी, दाद या चर्मरोग छ भने धमिराको देवलको माटो, शुद्ध जल र निमपत्तालाई मिसाएर लेप बनाएर लगायो भने चर्मरोग निको हुन्छन् ।
– जल आयुर्वर्धक रसायन हो । अथर्ववेदमा उल्लेख गरिएको छ९ रोगग्रस्त क्षेत्रमा मनतातो पानीमा वाफले सेक्यो भने जुनसुकै असाध्य रोग पनि निको हुन्छ ।
– ठूलो भाँडोमा आधा पानी राखेर कमर भन्दा तलको भाग डुबाएर मनतातो पानीमा वस्नाले कमरको रोग र दुखाइ, स्नायुको नसाको समस्या बिस्तारै ठीक भएर जान्छ ।
– यदि पेट दुख्ने समस्या छ भने तातो पानीमा कपडा भिजाएर पेटमाथि राख्यो भने पेटको दुखाइ विस्तारै ठीक हुन्छ ।
– तातोपानीमा मोटो कपडा भिजाएर निचोरी पेटमाथि राख्यो भने पेटसम्बन्धी समस्या निको हुन्छन् ।
– विहानै उठेर शौचजानुभन्दा पूर्व नै एकदेखि तीन गिलास मनतातो पानी पिउने गर्नुपर्छ । जसले कब्जियतसम्बन्धी विभिन्न रोग निको हुन्छन् ।
– आकाशबाट पर्दै गरेको पानीमा थापिएर स्नान गर्नाले चर्म रोग सम्बन्धी समस्याबाट छुटकारा मिल्दछ ।
– आकाशबाट परेको जल कुनै कसिङ्गर नपर्ने ठाउँमा थापेर सेवन गर्ने गर्दा शरीरका प्रायः सबै रोग नष्ट हुन जान्छन् । एकै पटक धेरै आकाशको पानी खानु हुँदैन । औषधीको रूपमा मात्र लिने ।