डा जनार्दन सुवेदी
तिमीले भन्यौ
रोएर मात्र केहि हुँदैन
सपना चूर हुँदा पनि
आँसु पुछेर उठ्नुपर्छ
सही कुरा हो
हिम्मत बिना
बाटो खुल्दैन
तर एउटा प्रश्न छ
के तिमीले सुनेका छौ
ती आँसुका आवाज ?
जे पाउनु थियो पाएनन्
जे चल्नु थियो चलेन
त्यो केवल हार होइन
त्यो वर्षौँको प्रतीक्षा हो
र त्यो प्रतीक्षाले
मानिसलाई थकाइदिन्छ
तिमीले भन्यौ
डराएर केहि हुँदैन
साहस राख्नुपर्छ
तर के तिमीले देख्यौ
खाली गाउँहरू ?
बिदेशिने युवाहरू ?
आमाबुबाको आँखामा
दैनिक बढ्ने
चिन्ताको रेखा ?
संसारले जे भने पनि
आफ्नो बाटो हिँड्नुपर्छ
त्यो पनि सत्य हो
तर बाटो थाहा भएर पनि
जब बाटोमै ढुंगा हुन्छ
जब राज्य मौन हुन्छ
तब केवल हिम्मतले मात्र
सबै समस्या टर्दैन
बीउ रोप्नुपर्छ
पानी परेपछि
फसल आउँछ
तर खेत बाँझो छैन भन्ने कुरालाई
खेतको पीडा पनि बुझ्नुपर्छ
माटो सुक्नुको कारण
सुन्नुपर्छ
त्यसैले प्रश्न फेरि उभिन्छ
रोएर मात्र केहि हुँदैन
यो पनि सत्य हो
तर
आँसु किन आयो
त्यो नबुझी
आशाको भाषणले
केहि हुन्छ र ?
पहिले बुझ्नुपर्छ
यो देशका मानिसको
दुख, पीडा, र निराशा
त्यसपछि मात्र
हिम्मतको कुरा गरौँ
त्यसपछि मात्र
भविष्यको बीउ रोपौँ
किनकि
आँसु पुछ्नु अघि
आँसु देख्न सक्नुपर्छ।
(हाल : अमेरिका)
प्रतिक्रिया दिनुहोस्