पछिल्लो समय नेपालमा निम्रोलोजी (अंक ज्योतिष) प्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । सामाजिक सञ्जालदेखि अनलाइन कक्षासम्म निम्रोलोजी सिक्ने र सिकाउने गतिविधि विस्तार भइरहेका छन् । व्यक्तिगत जीवन, आर्थिक उन्नति, स्वास्थ्य र निर्णय प्रक्रियामा मार्गदर्शन खोज्नेहरूका लागि यो विषय नयाँ सम्भावनाको क्षेत्रका रूपमा उभिएको छ ।
अहिले फेसबुक, युट्युब र टिकटकजस्ता प्लेटफर्ममा निम्रोलोजी सम्बन्धी सामग्रीको बाढी आएको छ । दैनिक राशिफलजस्तै अंकका आधारमा भविष्यफल, शुभ अंक, शुभ रंग र दिनको विश्लेषण सार्वजनिक हुन थालेका छन् । यसले विशेषगरी युवा पुस्तामा आकर्षण बढाएको देखिन्छ । अनलाइन माध्यमबाट सञ्चालन भइरहेका कक्षामा सयौँ विद्यार्थी सहभागी हुने गरेका छन् भने केही संस्थाहरूले त सर्ट टर्म कोर्स, प्रमाणपत्र र परामर्श सेवा समेत सुरु गरेका छन् ।
निम्रोलोजीलाई समर्थकहरूले विज्ञानमा आधारित विषय मान्छन् । उनीहरूका अनुसार जन्म मिति, नाम र अंकहरूको कम्पन ९खष्दचबतष्यल० ले व्यक्तिको जीवनमा प्रभाव पार्छ । सही अंकको प्रयोगले सफलता, धन र मानसिक सन्तुलन ल्याउन सकिने दाबी गरिन्छ । यही कारणले धेरै मानिसहरू नाम परिवर्तन, हस्तरेखामा अंक लेख्ने, वा दैनिक जीवनमा अंकअनुसार निर्णय लिन थालेका छन् ।
तर, यस क्षेत्रमा बढ्दो आकर्षणसँगै केही चुनौतीहरू पनि देखिन थालेका छन् । विशेषज्ञता बिना नै आफूलाई “निम्रोलोजिस्ट” घोषणा गर्ने, छोटो तालिम दिएर ठूलो शुल्क लिने, र अवैज्ञानिक दाबी गर्ने प्रवृत्ति पनि बढ्दो छ । यसले सर्वसाधारणलाई भ्रममा पार्ने जोखिम रहेको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार निम्रोलोजी अध्ययन गर्दा यसको आधार, विधि र सीमाबारे स्पष्ट बुझाइ आवश्यक हुन्छ ।
समाजशास्त्रीहरू भने यसलाई आधुनिक जीवनको अनिश्चितता र तनावसँग जोडेर हेर्छन् । उनीहरूका अनुसार भविष्यप्रति असुरक्षा बढ्दा मानिसहरू वैकल्पिक मार्गहरू खोज्छन्, जसमा निम्रोलोजी पनि एक हो । यसले मानसिक सान्त्वना र आत्मविश्वास दिन सक्ने भएकाले यसको लोकप्रियता बढेको उनीहरूको भनाइ छ । जन्म मिति र व्यवहारिक नाम यकिन भएको अवस्थामा पेशा, व्यवसाय, रुचीदेखि समग्र जीवनीमा ९० प्रतिशतसम्म निम्रोलोजीले सही बताउने यसलाई अनुशरण गर्नेहरुको भनाइ पाइन्छ ।
शिक्षा र अनुसन्धानको दृष्टिकोणबाट हेर्दा नेपालमा निम्रोलोजी अझै प्रारम्भिक चरणमै रहेको देखिन्छ । औपचारिक पाठ्यक्रम, प्रमाणित अध्ययन र सरकारी नियमनको अभाव छ । तर निजी क्षेत्र र व्यक्तिगत पहलमा भइरहेको विस्तारले आगामी दिनमा यसलाई व्यवस्थित रूपमा विकास गर्न सक्ने सम्भावना देखिएको छ ।
समग्रमा हेर्दा, निम्रोलोजी नेपालमा विश्वास र प्रयोग दुवैको संगम बन्दै गएको छ । यसको बढ्दो प्रभावलाई सकारात्मक दिशामा लैजान वैज्ञानिक अध्ययन, जिम्मेवार अभ्यास र सचेत प्रयोग आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्