-सुरेन्द्र सुवेदी/काठमाडौं
पोर्चुगल सरकारले काठमाडौँमा कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा गरेसँगै नेपाली नागरिकका लागि लामो समयदेखि झेलिँदै आएको प्रशासनिक झन्झट अन्त्य हुने संकेत देखिएको छ। हालसम्म पोर्चुगलसम्बन्धी भिसा, कागजात प्रमाणीकरण तथा अन्य कन्सुलर सेवा लिनका लागि भारतको नयाँदिल्ली पुग्नुपर्ने बाध्यता थियो ।
जसले समय, खर्च र प्रक्रिया दुवै हिसाबले नेपालीहरूलाई ठूलो भार थपिरहेको थियो। अब काठमाडौँमै सेवा उपलब्ध हुने भएपछि विशेषगरी विद्यार्थी, रोजगारी खोज्ने युवाहरू र भ्रमणका लागि आवेदन दिनेहरूलाई ठूलो राहत मिल्ने धेरै नेपालीले अपेक्षा गरेका छन् ।
यस निर्णयले कागजात प्रमाणीकरणको प्रक्रिया पनि सहज बनाउने देखिएको छ। विगतमा प्रहरी रिपोर्टमा देखिएको नक्कली छाप (फेक स्ट्याम्प) जस्ता समस्याले हजारौं नेपालीलाई कानुनी र प्रक्रियागत जटिलतामा पारिरहेको अवस्थामा अब यस्ता विषयमा प्रत्यक्ष समन्वय र समाधान सम्भव हुने विश्वास गरिएको छ। यसले एजेन्ट र बिचौलियामाथिको निर्भरता घटाउनुका साथै ठगीका घटनामा पनि कमी ल्याउने अनुमान गर्न सकिन्छ ।
पोर्चुगलमा कति नेपाली छन् ? यसको ठीक उत्तर छैन । सन् २०२२ मा करिब २१ हजार नेपाली पोर्चुगल पुगेका थिए । अहिले करिव ६० हजार रहेका छन् । पोर्चुगल जान त्यहाँको कानुन आप्रवासीहरुका लागि केही सहज भएकोले आकर्षित मानिन्छ । त्यहाँ २ वर्ष बस्दा अस्थायी बसोबासको अनुमति पाइने र त्यो अनुमतिले युरोपतिर जता गएर बसे पनि हुने भएकोले युरोप जाने अधिकांश युवायुवति पहिला पोर्चुगल जान चाहने पोर्चुगलमा रहेकी सुरक्षा बस्नेतको बुझाइ छ । अहिले पनि सयौंको संख्यमा नेपाली युवायुवती पोर्चुगल जान भिषाको प्रतीक्षामा रहेको बुझिन्छ ।
पोर्चुगलमा रहेका नेपालीका लागि कन्सुलर कार्यालय स्थापनाको यो कदम महत्वपूर्ण मानिएको छ। बसोबास अनुमति, कागजी प्रक्रिया र विभिन्न कानुनी समस्यामा समन्वय सहज हुने, आपतकालीन अवस्थामा छिटो सहयोग प्राप्त हुने तथा श्रमिक अधिकारसम्बन्धी विषयमा थप निगरानी बढ्ने अपेक्षा गरिएको छ। यसले विदेशमा रहेका नेपालीहरूको सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
काठमाडौँमा पोर्चुगलको कूटनीतिक उपस्थिति विस्तार हुनु केवल सेवा सहजतामा सीमित नहुने विश्लेषकहरू बताउँछन्। यसले नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुका साथै व्यापार, लगानी, पर्यटन, ऊर्जा, कृषि र प्रविधि क्षेत्रहरूमा सहकार्यको नयाँ सम्भावना खोल्ने देखिएको छ। विशेषगरी युरोपियन युनियनको सदस्य राष्ट्रसँगको सम्बन्ध विस्तार हुनु नेपालका लागि रणनीतिक रूपमा पनि महत्वपूर्ण मानिएको छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच भएको टेलिफोन संवादले पनि यो प्रक्रियालाई अघि बढाउन भूमिका खेलेको मानिएको छ। उक्त संवादमा नेपाली नागरिकहरूले भोगिरहेका कागजी समस्या र त्यसको समाधानका लागि गरिएको पहलले कन्सुलर कार्यालय स्थापनाको निर्णयमा सहयोग पुर्याएको बुझिएको छ।
समग्रमा हेर्दा काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना हुनु केवल प्रशासनिक सुधार नभई नेपाली नागरिकका लागि सहजता, सुरक्षाको प्रत्याभूति र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको अवसरका रूपमा हेरिएको छ। अब यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने भए पनि प्रारम्भिक रूपमा यो निर्णयलाई नेपालीका लागि सकारात्मक र दीर्घकालीन रूपमा लाभदायक कदमका रूपमा लिन सकिन्छ।
प्रतिक्रिया दिनुहोस्