Advertisement GIF
नेपाली सेनाद्वारा बझाङ जीप दुर्घटनाका गम्भीर घाइतेको हवाई उद्धार

बझाङ जिल्लाको सुङ्गुरे इलाकामा हिजो असार २७ गते भएको जीप दुर्घटनाका गम्भीर घाइतेहरूलाई नेपाली सेनाले आज हवाई साधनमार्फत उद्धार गरी विभिन्न अस्पताल पुर्‍याएको छ। दुर्घटनामा गम्भीर चोट लागेका तीन महिला र दुई पुरुषसहित पाँच जना घाइतेहरूलाई थप उपचारका लागि नेपाली सेनाको हवाई साधनद्वारा नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइएको छ।

त्यसैगरी, अवस्था थप जटिल भएका अन्य दुई जना पुरुष घाइतेहरूलाई सेनाको हेलिकप्टरमार्फत सुरुमा सुर्खेत ल्याई त्यहाँबाट स्काई ट्रक (Sky Truck) मार्फत काठमाडौं ल्याइएको छ। सोही उद्धार उडानकै क्रममा उपचारको आवश्यकता परेकी एक बिरामी बालिकालाई समेत सेनाले सुर्खेत प्रादेशिक अस्पताल पुर्‍याएको छ। संकटको घडीमा नेपाली सेनाले तदारुकताका साथ हवाई साधन परिचालन गरी घाइतेहरूको समयमै उद्धार गरेको हो।