भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट पूर्ण सफाइ पाएपछि संगीता पहाडी अर्याल नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा पुनर्वहाली हुनु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार निलम्बन फुकुवा भएपछि उहाँले नेपाल टेलिकमको केन्द्रीय कार्यालय पुगेर पुन : आफ्नो कार्यभार सम्हाल्नु भएको हो । यसअघि लागेको आरोपका कारण उहाँ केही समय निलम्बनमा पर्नु भएको थियो ।
पदबहालीका क्रममा आयोजित कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कसैसँग डराउनु नपर्ने बताउनु भयो । विगतमा आफूमाथि लागेका आरोप र सिर्जना गरिएका भ्रमका बादलहरू हटेर अन्ततः सत्यको जित भएको उहाँको भनाइ थियो। उहाँले आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व प्रदान गरी ओझेलमा पर्न नदिने सम्पूर्ण टिमप्रति धन्यवाद पनि दिनु भयो ।
आगामी कार्यदिशाका बारेमा प्रबन्ध निर्देशक अर्यालले कम्पनीमा व्यापक प्रक्रियागत सुधारको आवश्यकता औल्याउनु भएको छ । अबका दिनमा टेलिकमको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउनुका साथै बाह्य दृष्टिकोण र ग्राहकको सन्तुष्टिलाई समेत विशेष ध्यानमा राखेर कार्य अगाडि बढाइने प्रतिबद्धता उहाँको छ ।
प्रतिक्रिया दिनुहोस्