काठमाडौं । मुलुकमा बलियो राष्ट्रवादी राजनीतिक शक्तिको खाँचो औंल्याउँदै राष्ट्रप्रेमी र देशभक्तको छवी बनाएका नेता, राजनीतिक दल तथा अभियन्ताहरूको अगुवाइमा नयाँ राजनीतिक दल गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पछिल्लो समय जनतामा बढेको निराशा र राष्ट्रवादी आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउने उद्देश्यका साथ डा धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा यो नयाँ राजनीतिक अभियानले मूर्त रूप लिन लागेको हो । नयाँ बन्ने यस राष्ट्रवादी पार्टीमा मुलुकका स्थापित र प्रभावशाली देशभक्त शक्तिहरू जोडिने क्रम तीव्र रूपमा बढेपछि राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ ।
प्रस्तावित नयाँ दलका नेता डा धवलशम्सेर राणाले नयाँ पार्टी गठनका लागि आवश्यक पर्ने सम्पूर्ण आन्तरिक तयारीहरू पूरा भइसकेको र निर्वाचन आयोगमा दल दर्ताका लागि चाँडै नै जाने जानकारी दिनुभएको छ । उहाँका अनुसार दल दर्ताका लागि कानुनी रूपमा आवश्यक पर्ने विधान लेखन, केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन लगायतका प्राविधिक तथा सांगठनिक कार्यहरू टुङ्गिसकेका छन् ।
यसैगरी प्रस्तावित नयाँ दलका सचिवालय प्रमुख सगुनसुन्दर लावतीले देश तथा विदेशमा रहेका सबै नेपालीबाट यो अभियानका लागि अभूतपूर्व शुभेच्छा र समर्थन प्राप्त भइरहेको बताउनुभएको छ । देशलाई माया गर्ने र बलियो राष्ट्रियताको पक्षमा उभिने विभिन्न राजनीतिक दल तथा सामाजिक अभियानहरू निरन्तर सम्पर्कमा आइरहेकाले राष्ट्रवादी प्रजातान्त्रिक दल गठन गर्ने प्रक्रिया अत्यन्तै उत्साहजनक माहोलका साथ अगाडि बढेको उहाँको भनाइ छ ।
विगतका दिनहरूमा राष्ट्रवादी धारको प्रतिनिधित्व गर्ने कतिपय दल र तिनका बुझक्कड नेताहरूले आम मतदातालाई झुक्याएको, भनाइ र गराइमा व्यापक अन्तर राखेको, राजसंस्थाको नाम भजाएर व्यक्तिगत रूपमा सत्ता र पद मात्र प्राप्त गर्न खोजेको भन्दै सर्वसाधारणमा ठूलो जनगुनासो र आलोचना रहँदै आएको छ ।
गणतन्त्रवादी शक्तिहरूको स्वार्थमा लागेर राजसंस्थावादी आन्दोलनलाई कमजोर बनाउने र तुहाउने काम कतिपय नेतृत्वबाट भएको भन्दै राष्ट्रवादी खेमाभित्रै तीव्र असन्तुष्टि चुलिएको सन्दर्भमा अब बन्ने यो नयाँ दलले ती सबै खाडलहरूलाई पुर्ने विश्वास गरिएको छ । जनताको गुमेको विश्वासलाई पुनर्जीवित गर्दै सडक र सदन दुवै मोर्चामा खरो उत्रने प्रतिबद्धताका साथ आउन लागेको यो नयाँ वैकल्पिक शक्तिले देशको राजनीतिलाई नयाँ दिशा दिने विश्लेषकहरूको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्