नेपाली सेनाको आयोजनामा मध्यपूर्वी पृतनाअन्तर्गत रामेछापको खड्गदल गणमा ‘भूतपूर्व सैनिक सम्मेलन–०८२’ को अन्तिम चरण सम्पन्न भएको छ। प्रधान सेनापतिको आतिथ्यमा आयोजित यस मुख्य सम्मेलन र अन्य दुई उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।

सोही अवसरमा एक विशेष समारोहका बीच रामेछाप जिल्ला निवासी १०२ वर्षीया ज्येष्ठ एकल महिला नरमाया कार्कीलाई ज्येष्ठ शताब्दी महिलाका रूपमा विशेष अभिनन्दन गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजित यस सम्मेलनमा करिब ६ हजार ५ सय अवकाशप्राप्त सैनिक तथा उनीहरूका परिवारको उपस्थिति रहेको थियो।
सम्मेलनका अवसरमा फरक क्षमता भएका तथा अशक्त २४ जना भूतपूर्व सैनिकहरूलाई ह्विलचेयर तथा बैसाखी वितरण गरिएको छ। साथै, ज्येष्ठ भूतपूर्व सैनिक, ज्येष्ठ एकल महिला, आफ्ना चार सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने चार अभिभावक र उत्कृष्ट उद्यमीहरूलाई सम्मान, प्रशंसा(पत्र तथा पुरस्कार प्रदान गरिएको थियो।
नेपाली सेनाले यस प्रकारका कार्यक्रमले सेवारत र अवकाशप्राप्त सैनिकहरूबीचको सम्बन्धलाई सुमधुर र निरन्तर राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। यसै कार्यक्रमसँगै आर्थिक वर्ष २०८२÷०८३ का लागि तय गरिएका भूतपूर्व सैनिक सम्मेलनहरू औपचारिक रूपमा समापन भएको सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्