नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) को आयोजनामा आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण सञ्चालन हुने भएको छ। नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यसहित ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित यस प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ।
महासंघका अध्यक्ष तथा फिन इलेक्ट्रो–टेक २०२६ मूल आयोजक समितिका संयोजक दिलीपकुमार अग्रवालका अनुसार नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित यस ऊर्जा मेलामा ऊर्जा व्यवस्थापन, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। सन् १९९६ देखि नियमित रूपमा आयोजना हुँदै आएको यो प्रदर्शनी उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर, प्राविधिक र उपभोक्ताबीच प्रविधि र व्यावसायिक अवसर आदान–प्रदान गर्ने प्रभावकारी मञ्च बनेको छ। सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत ऊर्जा तथा विद्युतीय क्षेत्रलाई प्राथमिकतामा राखेको सन्दर्भमा यस मेलाले विद्युत उत्पादन वृद्धि, प्रसारण पूर्वाधार विस्तार र विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा टेवा पुऱ्याउने विश्वास गरिएको छ।
यस वर्ष प्रदर्शनीका सबै स्टलहरू समयअगावै बुकिङ भइसकेका छन्, जसमा नेपाल, भारत र चीनलगायत विभिन्न देशका स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डहरूको सहभागिता रहनेछ। प्रदर्शनीमा ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर जस्ता प्रतिष्ठित कम्पनीहरूले ट्रान्सफर्मर, स्विचगियर, केवल, स्मार्ट होम सोलुसन, एलईडी प्रविधि, सौर्य ऊर्जा र ई–मोबिलिटी चार्जिङ पूर्वाधार जस्ता सामग्री प्रदर्शन गर्नेछन्। मेला अवधिभर व्यावसायिक भेटघाट तथा अन्तर्क्रिया र ज्ञानमूलक सत्रहरू समेत सञ्चालन हुनेछन्।
यस वर्षको प्रदर्शनीको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सफर्मर र पावर बाई स्पोन्सर ह्याभेल्स इन्डिया लिमिटेड रहेका छन्। त्यस्तै प्लाटिनम स्पोन्सरमा जनता केईआई, डायमण्डमा लेजर इन्डिया र ग्रेटह्वाइट इलेक्ट्रिकल्स तथा गोल्ड स्पोन्सरमा ब्रिलियन्ट एलईडी रहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको सहयोगमा हुन लागेको यस मेलामा करिब २५ हजार आगन्तुकहरू आउने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको भए तापनि आगन्तुकहरूले क्यूआर कोड वा अनलाइन लिंकमार्फत अनिवार्य रूपमा पूर्वदर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ। महासंघले सम्पूर्ण उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, विद्यार्थी र सर्वसाधारणलाई मेलामा सहभागी भई आधुनिक प्रविधिको प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्