केही दिनअघि राजधानीको पशुपतिनाथ मन्दिर परिसर आर्यघाटमा जल्दै गरेको शवबाट मासु र हाड बिक्री भएको घटना अझै ताजैछ । यो घटनामा संलग्न घाटे ब्राम्हण, उनले शवबाट झिकेको मासु र हाड लिएर जाने व्यक्ति तथा त्यो मासु र हाड किन्ने दुईजनासमेत ४ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यो घटना सार्वजनिक भएपछि मानिसले अघोरी समुदायलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन पनि देखिएको छ । वास्तवमा अघोरीले मानिसको मासु खान्छन्, या खान्नन् ? यो विषयमा यो समाचारमा केही प्रष्ट पार्न खोजिएको छ ।

अघोरी बाबाहरुका अनुसार सनातन धर्ममा आस्था राख्ने अघोरी परिवार भगवान शिवकै रुप हो । ५ तत्वको शरीर यो समूदायले पनि मान्छ । रुद्रनाथ अघोरी भन्छन्, –‘अघोरी समुदायले कालो कपडा लगएर हिड्दा मानिसहरुले अर्काै रुपमा लिने गर्दा रहेछन््, मसान खेलाउने, मानिसको मासु खाने आरोप लगाउने गरेको पाइयो, अघोरी समुदाय शान्त रहन मसानघाटमा बस्ने गर्छन्, यो नै विश्वको सबैभन्दा शान्त स्थान मानिन्छ, अघोरी समुदायले कुनै पनि सर्तमा मानिसको मासु खाँदैनन्, यदि कसैले खान्छ भने त्यो अघोरी होइन ।’
नेपालमा अहिले ठगी गर्न कालो कपडा लगाउने र आफूलाई अघोरी भन्दै ठग्ने समूह रहेको अघोरी रुद्रनाथको भनाइ छ । उनी मानिसबाट पैसा लुुट्न विभिन्न बहाना बनाउँदै हिड्ने अघोरीका नामका व्यक्तिलाई सरकारले कारवाहीको दायरामा ल्याउनु पर्ने माग गर्छन् ।
पशुपतिमा भएको घटनामा उनी डायन– बोक्सी खेलाउने भन्दै ठग्न, तन्त्रमन्त्र, झाफुक, टुनामुना खेलाउने केही व्यक्तिले मानिसलाई ठग्न रचेको रचनामात्र भएको बताउँछन् ।

अघोरी समुदायले महाकाल र कालभैरवको पूजा गर्छन् । यो समुदाय मेख भगवान नाट्येश्वरी परिवारमा पर्छ । रुद्रनाथका अनुसार नेपालमा अहिलेसम्म अघोरी बन्न कोही पनि सकेको छैन । पशुपतिनाथले जसलाई अघोरीको शक्ति दिनुहुन्छ, त्यो नै अघोरी बन्ने उनको भनाइ छ । पशुपतिनाथमा सूर्यघाटमा भाञ्जानाथ, डा रामनाथ बाबा धाममा एक एक र भारतबाट आएका एकसमेत तीन जना अघोरी बाबा रहने गरेका छन् । उनीहरुका केही भक्त भएपनि पशुपति क्षेत्रमा कालो पोशाकमा देखिने अधिकांश भने ठग नै भएको बुझिएको छ ।
अघोरीहरुले कालभैरव र महाँकालको नियमित पूजा पाठ गर्दै आएका छन् । उनीहरु आफ्नो समुदायलाई सनातन धर्मको रक्षक र भगवान शिवको रुपमा लिने गर्छन् । उनीहरुको सबैभन्दा ठूलो भगवान भनेकै शिव भएकोले यो समुदायले मानिसको मासु तथा हाड खान्छ भनेर वितृष्णा फैलाउनुको पछि को र कसको हात रहेको छ, त्यसको खोजी पनि अघोरी समुदायले गर्दै आएको अघोरी रुद्रनाथले बताए ।
प्रतिक्रिया दिनुहोस्