काठमाडौँ उपत्यकामा भएका सवारी दुर्घटनामा परी गत आर्थिक वर्षमा १९० जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार गत आवमा उपत्यकाका विभिन्न स्थानमा भएका दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।
प्रहरीका अनुसार उपत्यकामा दैनिक १९ वटा सवारी दुर्घटना हुने गरेका छन्। जसमा दुई दिनमा एक जनाको मृत्यु हुने गरेको जस्तो तथ्यांक आएको प्रहरीको भनाइ छ।
गत आर्थिक वर्षमा उपत्यकामा ७ हजार १६९ सडक दुर्घटना भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० शेखर खनालले बताए। ‘दुर्घटनाहरूमा २७८ जना गम्भीर र ७ हजार ६३१ जना सामान्य घाइते भएका थिए,’ उनले भने।
उपत्यकामा भएका दुर्घटनामा मोटरसाइकल र स्कुटर ६ हजार ५३७, बस ९४१, कार र जिप ६०८, माइक्रोबस २८९, टिपर १९७ र टेम्पो १०२ वटा दुर्घटनामा परेका थिए ।
ट्राफिक नियम पालना नगर्ने सवारी चालकबाट ४२ करोड १२ लाख ४३ हजार ९ सय ७३ रुपैयाँ जरीवानावापत राजश्व संकलन भएको प्रवक्ता एसएसपी खनालको भनाइ छ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा २ हजार २९२ किलोमिटर सडक छ। यहाँ १ हजार ६५९ जना ट्राफिक खटिएका छन्। उपत्यकामा २० लाख १८ हजार ४३९ सवारी साधन दर्ता भएका छन्। एक जना ट्राफिक प्रहरीले १ हजार २२२ वटा सवारी साधनको व्यवस्थापन गर्नुपर्छ। विश्वमा एक जना ट्राफिक प्रहरीले औषतमा २ सयदेखि ५ सय सवारी साधन सञ्चालन गर्ने अभ्यास छ।
दरबन्दीमा रहेका ट्राफिकमध्ये केही तालिममा रहने, केही बिदामा बस्नेजस्ता कारणले दैनिक रुपमा सडकमा खटिनेको संख्या भने करिब १ हजार ३ सय जनाको हाराहारीमा रहने गर्छ। जसका कारण सीमित सडक र बढ्दो सवारी साधन प्रयोगका कारण उपत्यकाका अधिकांश चोकमा कार्यालय समय बिहान ८ देखि १० र अपराह्न ४ देखि ६ बजेको समयमा अधिक जाम हुने गरेको छ।
-सुरेन्द्र सुवेदी
प्रतिक्रिया दिनुहोस्