Advertisement GIF
निर्वाचन र मानव अधिकारः सुर्खेतमा जेन-जेड प्रतिनिधि सहित सरोकारवालाबीच छलफल

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जेन-जेड प्रतिनिधि सहित सरोकारवालाबीच निर्वाचन र मानव अधिकार विषयमा छलफल गरिएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा बुधबार वीरेन्द्रनगरमा आगामी फागुन २१ गते हुने निर्वाचनको लागि ‘निर्वाचन र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय प्रमुख नारायण सुवेदीले रंगिन पाटीलाई जानकारी दिए।

अन्तरक्रिया कार्यक्रममा निर्वाचनको तयारी, मानव अधिकारको अवस्था, निर्वाचनमा युवाको सहभागिता तथा जेन- जेड आन्दोलनको भूमिकाबारे राजनीतिक दलका प्रतिनिधि, युवा मानवअधिकार कर्मी, जेन-जेड प्रतिनिधि सहित सरोकारवालाबीच छलफल गरिएको इन्सेक कर्णालीका प्रमुख सुवेदीले रंगिन पाटीलाई बताए ।

कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईं ले नव–युवालाई मतदान प्रक्रियामा सहभागी गराउने उद्देश्यसहित मतदाता नामावली अद्यावधिक कार्य प्रविधिमैत्री बनाइएको जानकारी दिए।

उनले निर्वाचनको विषयमा आवश्यकताअनुसार सबै सरोकारवाला निकायसँग समन्वय भइरहेको र साथै निर्वाचनमा प्रबेक्षक छनोटका क्रममा कुनै पनि राजनीतिक दलमा आबद्ध व्यक्तिलाई सहभागी नगराउन अनुरोध समेत गरे । सूचना अधिकारीले जिल्ला बाहिर तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा भने हालसम्म कुनै पनि कानुनी व्यवस्था नभएको समेत उल्लेख गरे ।

मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी मान बहादुर कार्कीले निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र हुनुपर्नेमा जोड दिए।

मानव अधिकारका विषयमा आ–आफ्नो अनुकूल सिद्धान्त बनाउनु गलत हुने भन्दै साझा मूल्य र मान्यतामा आधारित अभ्यास आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै जेनजेड अगुवा तथा कर्णाली प्रदेश संयोजक सुप्रिया राज्यलक्ष्मी शाहीले जेन–जेडलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताइन्।

निर्वाचन सफल बनाउन हरेक क्षेत्रले आफ्नो भूमिका खेल्नुपर्ने भन्दै न्यायका लागि अझै पनि संघर्ष गर्नुपर्ने धारणा राखिन्। उनले पार्टीभन्दा नेतृत्वका कमजोरीले समस्या सिर्जना हुने गरेको बताइन् । गत भदौमा भएको जेन-जेड आन्दोलन भ्रष्टाचार अन्त्य र देशमा सुशासन कायम राख्न गरिएको बताउँदै आगामी निर्वाचनमा हरेक राजनीतिक दलले युवालाई प्राथमिकता राखेर आगामी निर्वाचनमा उम्मेद्वार बनाउनु पर्ने उनले जोड दिइन्।

त्यस्तै कार्यक्रममा जेन–जेड अभियन्ता प्रकाश खड्काले जेन–जेडलाई आतंककारीको रूपमा चित्रण गर्नु गलत भएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री तथा कर्णाली प्रदेश प्रवक्ता हरि अधिकारीले कार्यक्रममा उठेका प्रश्न हरुको जवाफ दिंदै नेपालका अन्य राजनीतिक दलभन्दा युवालाई समेट्ने पार्टी रास्वपा भएको दाबी गरे।

उनले जेन-जेड उमेर समूहका युवा पुस्तालाई ‘जेन–जेड डर लाग्दो होइन, रहर लाग्दो’ हुनुपर्ने उल्लेख गर्दै यो निर्वाचन पछि पनि युवाले नेतृत्व गर्न नसके जेन–जेड आन्दोलनको औचित्य नहुने बताए ।

सम्पूर्ण राजनीतिकदलहरुले आगामी निर्वाचनको मुख्य एजेन्डा नै सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने बनाउनुपर्ने र

आवश्यक परे आगामी निर्वाचनमा अन्य दलका राम्रो उम्मेदवारलाई समेत सहयोग गर्न सकिने बताए।

नेपाली कांग्रस सुर्खेत जिल्लाका उप–सभापति टोप बहादुर रावतले छलफलमा उठेको प्रश्नहरूको जवाफ दिंदै लोकतन्त्र, प्रजातन्त्र र मुलुकको शान्तिका लागि संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएको बताए। कांग्रेस निर्वाचनमा जाने निर्णय केन्द्रीय समितिबाट भइसकेको र पार्टीभित्र युवा पुस्ताको उल्लेखनीय सहभागिता रहेको उनको भनाइ थियो।

नेकपाकी केन्द्रीय सदस्य हरिमाया शर्माले चुनावको मेरुदण्ड राजनीतिक दल नै भएको उल्लेख गरिन्। राजनीतिक दलविना चुनाव सम्भव नहुने भन्दै नेकपाले ११ गतेसम्म उम्मेदवार छनोट गर्ने जानकारी दिइन्। उनले यो पटकको चुनावको लागि २० प्रतिशत युवालाई उम्मेदवार सिफारिस गरिने बताउँदै नेकपाको इतिहास लामो र संघीय लोकतन्त्र , गणतन्त्र स्थापना गर्ने पार्टी नेकपा भएको दाबी गरिन्। प्रचण्डले उल्लेखनीय काम गरेकै कारण सरकारबाट बाहिरिनुपरेको समेत उनले बताइन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य शुसिल थापाले चुनाव लोकतन्त्रका लागि अपरिहार्य भएको बताए। विधिको शासन आवश्यक रहेको उल्लेख गर्दै एमाले चुनावबाट भाग्न नखोजेको स्पष्ट पारे।

उनले दलको आलोचनाले मात्रै परिवर्तन नआउने भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पसहित सहकार्य र संवाद आवश्यक रहेको बताए। साथै संसद पुनःस्थापना हुनेमा कुनै द्विविधा नभएको दाबी गर्दै जेन–जेड, एमाले र कांग्रेसबीच हस्ताक्षर सहितको सहकार्यबाट सांसद पुनःस्थापना हुने दाबी गरे।

कार्यक्रममा इन्सेकका संस्थापक तथा टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष शुसिल प्याकुरेलले राजनीति नैतिकताको धरातलमा उभिनुपर्ने बताए।तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि फौजदारी अभियोग लगाउने अन्तरिम सरकारकी प्रधानमन्त्री शुशिला कार्कीले केटाकेटी पारा देखाएको बताए ।

उनले कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुले दिएका जवाफ प्रति व्यंग गर्दै अझै नसच्चिय कहिले सच्चिने भनेर प्रश्न गरे । सबै दललाई सुध्रिने मौका भएको बताउँदै उनले आगामी दिनमा सुशासन र भ्रष्टाचार बिरुद्दको अभियानमा सबैले हातेमालो गर्दै आगामी निर्वाचनमा सबै राजनीतिक दलले युवा पुस्तालाई समेट्नु पर्ने समेत बताए ।

कार्यक्रममा युवा पंक्तिलाई आगामी निर्वाचन प्रक्रियामा जोड्न तथा राजनीतिक हस्तक्षप हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो ।

युवाको सक्रिय सहभागिता, मानव अधिकारको संरक्षण, निष्पक्ष निर्वाचन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्न इन्सेकको आयोजनामा गरिएको अन्तर्क्रिया कार्यक्रममा जेन-जेडका प्रतिनिधि तथा कर्णाली प्रदेश संयोजक  शाही, इन्सेकका कर्णाली प्रदेश प्रमुख सुवेदी, इन्सेकका संस्थापक प्याकुरेल, मध्यपश्चिम विश्व विद्यालयका उप- प्राध्यापक उपेन्द्र विक, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईं, मानव अधिकार कर्मी तथा काउन्सिलर शर्मिला विसी, राजनीतिक दलका प्रतिनिधि , युवा मानवअधिकार कर्मी , लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।