Advertisement GIF
कल्पवृक्ष
पुस १४ सोमबार, ८:२५ अपराह्न
विभेदविरुद्धको यात्रा: ‘जीवनको गीत’

 विभेदमा पारिएका सबै आमा, दिदीबहिनीप्रति समर्पित जनगायिका मधु गुरुङको पहिलो उपन्यास जीवनको गीत मैले पढिसकेको छु। उपन्यासमा ‘सानी’ लाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ। सानी एक योद्धा हुन्—विभेदविरुद्ध लड्ने सिपाही, आवाजविहीनहरूको सशक्त आवाज र समाज रुपान्तरणका लागि निरन्तर अघि बढिरहने अनवरत यात्री। उनी समाजको कथा लेख्दै, खोलाको संगीत सुन्दै र जीवनको गीत गाउँदै निरन्तर हिँडिरहन्छिन्।

कथासार

कथाको सार तिल्के बहर बेच्ने क्षणबाट सुरु हुन्छ। सानीले गोठबाट दाम्लो फुकाउँदा तिल्केले मानिरहेको दृश्य, “बाटो लामो छ, बेलाबेला खुवाउँदै लैजानु है” भन्दै आँसु झार्दै सम्झाउने सानीको भावले मन अमिलो बनाउँछ। जुन घरमा जन्मियो, त्यहीँबाट उज्यालो नखस्दै बेचिनुपर्ने तिल्केको नियतिले पशुको विवशता मात्र होइन, मान्छे–पशुबीचको अन्योन्याश्रित प्रेम पनि देखाउँछ। सानी ‘जा है तिल्के’ भन्दै परसम्म हेरीरहन्छिन्; बिस्तारै तिल्के छायाँ हुँदै हराउँछ।

लेखिका मधु गुरुङ

बिहान गुवालीमा गोबर सोहोर्दा सानीले गाजली गाईको आँखामा आँसु देख्छिन्। यहाँ पशु–पशुबीचको मित्रता र संवेदना झल्किन्छ। मान्छेले स्वार्थका लागि पशुलाई प्रयोग गर्छ, अनि नराम्रो काम गर्दा ‘पशु जस्तो’ भन्छ। तर सानीलाई लाग्छ—पशुभन्दा मान्छे नै खराब हुन सक्छ।

लोहन्द्रा खोला: प्रतीक र दर्शन

उपन्यासभरि लोहन्द्रा खोला वरपरको परिवेश बारम्बार दोहोरिन्छ। खोलासँग सानीको गहिरो भावनात्मक सम्बन्ध छ। खोलामा आएको बाढीले काठका मुडा र लास बगाएर ल्याएको प्रसङ्गमा आमाले भनेको संवाद—“हाम्रो जीवन पनि रहुन्जेल त हो; मरेपछि मान्छे मुडाजस्तै”—मानव जीवनको यथार्थलाई छर्लङ्ग पार्छ।

लोहन्द्राको किनारमा फुलेको सेताम्मे काँसलाई ‘बगरले ओढेको सेतो पछ्यौरी’ ठान्दै सानी सोच्दछिन्—कठिन परिस्थितिमा पनि काँस फुल्न छोड्दैन भने म त मान्छे हुँ, अप्ठ्यारासँग जुध्नैपर्छ। यसले सानीको आत्मबल र संघर्ष देखाउँछ।

गरिबी, जातीय र लैङ्गिक विभेद

बाबुले खेत बन्धकी राखेपछि आमा र सानीले अर्काकोमा बनिबुतो गर्नुपरेको क्षण मार्मिक छ। आफ्नै खेतमा धान रोपेको-काटेको सम्झँदै आमाको मलिन अनुहार देख्दा सानीको पीडा गहिरिन्छ।
दिनभरि काम गरेका खेतालालाई उर्मिलाकी आमाले छोइएला जस्तो गरी माथिबाट चामल दिएको प्रसङ्गले जातीय विभेद उजागर गर्छ।

आफ्ना दाजु ब्ल्याकबेल्ट भएर अरूलाई कराते सिकाउने तर सानीलाई “केटी मान्छेले यस्ता कुरा सिक्ने?” भनेर हप्काउने दृश्यले लैङ्गिक विभेद देखाउँछ। “के छोरी मान्छे मान्छे होइनन्?” भन्ने सानीको प्रश्न समाजप्रति तीखो प्रहार हो।

माया, विस्थापन र सम्झना

आमा बिरामी हुँदा दाजु ढिलो फर्किएपछि सानीले सन्तेलाई औषधि किन्न पठाउँछिन् र आमालाई भन्छिन्—“आमा, म पनि त तिम्रै सन्तान हुँ।” छोराले भन्दा छोरीले गर्ने माया झल्किन्छ। खोलामा माछा मार्दा साथीसँगको ठट्टा र रमाइलोले स्थानीय जीवन्त परिवेश देखाउँछ।

बाबुले घरसमेत बेचेर बसाइँ सर्नुपर्दाको विवशता र गाउँले मायाबाट टाढा हुनुपर्दाको पीडा अत्यन्त भावुक छ। सुरुवातमा तिल्केले गोठ छोड्नुपरेको निरिहता सानीसँग गाँसिन्छ—यसले ग्रामीण गरिबी र बाध्यतालाई संकेत गर्छ।

बेलबारी सरेपछि पनि कसेनी भएर बग्ने लोहन्द्रा खोला, सनिहाटको स्मृतिले सानीलाई आत्मविभोर बनाउँछ। जहाँ पुगे पनि पुरानो ठाउँप्रतिको माया रहने संकेत छ।

काठमाडौं र संघर्ष

जीवनसंघर्षको यात्रामा सानीको सपनाको सहर काठमाडौं पुग्ने रहर पूरा हुन्छ। कलंकी उत्रिएपछि बाक्ला घर, गाडीको भिड र रिक्सा नदेख्दा उनी बेलबारीभन्दा धेरै टाढा पुगेको महसुस गर्छिन्। राजधानी र गाउँको यथार्थवादी चित्रण यहाँ स्पष्ट छ।

पछि घर फर्किँदा आमा-छोरीबीचका दुखसुखका संवाद, बाबुको बानी थाहा पाउनु, ठूली दिदीले बेलबारीमा घर बनाउने खबरले सानीलाई आशा दिन्छ। आमाको “त्यो बेला गर्भपतन गरेर छोरी फालिन लागेको थिएँ” भन्ने भावले छोरीको जन्माधिकारलाई सशक्त रूपमा उठाउँछ।

पुरानो गाउँ सनिहाट नजान आमाको मनोव्यथा, सानीको गाउँ भ्रमण, जुनको उज्यालो, धान दाउनीको सुवास र बालबालिकाको खेल—यी दृश्यहरूले स्मृतिलोकलाई जीवन्त बनाउँछन्।

अन्त्यतर्फ

फेरि काठमाडौं फर्किएर रेखा दिदीसँगको भेटपछि सानी र मीनाले गलैंचाको काम छोडी होटलमा दोहोरी गाउन थाल्छन्। संगीत सिक्छन्, गीत रेकर्ड गर्छन्। बिस्तारै काठमाडौं अपरिचित सहर रहँदैन।  “जीवन सरल रेखा होइन, बक्र रेखा हो”—सानी र मीनाको संघर्षले यही सत्य भन्छ।

– नवीन दाहाल