Advertisement GIF
कल्पवृक्ष
माघ १८ शनिबार, १२:३० पूर्वाह्न
देश संकटमा छ : डा युवराज संगौला

झापा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार प्राध्यापक डा युवराज संग्रौलाले राजधानीमा पत्रकर सम्मेलन गर्दै चुनावका लागि विचारलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएका छन्। उनले जनतासम्म उभिने बेला व्यक्ति भन्दा पनि विचारलाई महत्त्व दिनुपर्ने विश्वास व्यक्त गरे। डा संग्रौलाले भने, ‘झापा क्षेत्र नम्बर २ का मतदाताले कुनै व्यक्ति होइन, विचारका आधारमा मतदान गर्नेछन्।’

उनले सञ्चारमाध्यमलाई पनि चित्तबुझ्दो टिप्पणी गरेका छन्, जहाँ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई अचानक ‘हिरो’ बनाउने काममा असन्तोष जनाएका छन्। उनले भने, ‘यसमा तपाईंहरूको भूमिका महत्वपूर्ण छ, जसले गर्दा केही नकारात्म्क व्यक्तिहरूलाई रातारात महत्त्वपूर्ण बनाइयो।’

झापा २ मा विभिन्न दलका चर्चित उम्मेदवारहरूको प्रतिस्पर्धा हुने देखिएको छ। एमालेका पूर्वसभामुख देवराज घिमिरे, रास्वपाका पूर्वउपसभामुख इन्दिरा राना मगर, राप्रपाका स्वागत नेपाल र कांग्रेसको तर्फबाट पूर्वमन्त्री सरिता प्रसाईंलगायतको नाम चर्चामा छन्।

डा संग्रौलाले आफ्नो उम्मेदवारीको क्रममा बौद्धिक वर्गको सक्रियता अत्यन्त आवश्यक रहेको बताए । उनले भने, ‘देश संकटमा छ, त्यसैले बौद्धिक व्यक्तिहरूले अब केवल बोल्नमात्र होइन, देशलाई जोगाउने र नयाँ दिशा दिनुपर्छ। यही सन्देश पुर्याउँदै म यो राजनीतिक मैदानमा उत्रिएको छु।’

अनामनगरमा रहेको युनियन हाउसमा राष्ट्रिय प्रेस क्लबले गरेको पत्रकार सम्मेलनमा डा संग्रौलाले उम्मेदवार बनेपछि आफ्ना योजनाबारे जानकारी गराएका हुन् ।