नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस–२०८२ विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। सैनिक मञ्च, टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार अर्पण गर्दै सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही–२०८२’ विमोचन गर्नुभएको थियो। साथै, क्रस–कन्ट्री दौड प्रतियोगितामा प्रथम र द्वितीय हुने क्रमशः प्रमुख सेनानी विवेकविक्रम शाह र हुद्दा रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गरिएको थियो।

समारोहमा हेलिकोप्टरमार्फत राष्ट्रिय झण्डा प्रदर्शनी गरिएको थियो। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आयोजित कार्यक्रममा राइफल तथा तोपबाट बढाइँ दिइनुका साथै विभिन्न सैनिक कला तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत तथा संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीबाटसमेत सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
उक्त अवसरमा प्रधानसेनापतिले विभिन्न क्षेत्रमा सुरक्षा तथा सामरिक योगदान पुर्याएका पूर्व सैनिक महानुभावहरूलाई प्रशंसा–चिन्ह तथा कदर पत्र प्रदान गर्नुभएको थियो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधानसेनापतिहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, बहालवाला तथा अवकाशप्राप्त सैनिक अधिकृतहरू, सैनिक परिवार तथा युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्