नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। नियुक्तिसँगै उनलाई पद तथा गोपनीयताको शपथ गराइएको छ।
नवनियुक्त प्रधानमन्त्री शाह फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। उनले उक्त निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका थिए।
शाह आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र ध्रुवादेवी शाहका पुत्र हुन्। उनको जन्म २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो भने पुख्र्यौली घर महोत्तरीको एकडारा हो।
र्र्याप आर्टिस्टका रूपमा समेत परिचित शाहले भारतबाट संरचनागत इन्जिनियरिङ र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। पछि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उनले महानगर प्रमुख पदबाट राजीनामा दिएका थिए।
महानगर प्रमुखका रूपमा रहँदा उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन, नेवा सम्पदा संरक्षण, शहरी व्यवस्थापन तथा सेवा प्रवाह सुधारमा योगदान दिएका थिए। अवैध संरचना हटाउने, फुटपाथ व्यवस्थापन र पूर्वाधार सुधार उनका प्रमुख कार्यहरूमा पर्छन्।
त्यस्तै, २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय सहभागिता जनाउँदै उनले पुल, सडक र भवन डिजाइन तथा निर्माण क्षेत्रमा अनुभव हासिल गरेका थिए।
शाहले र्याप सङ्गीतमार्फत पनि सामाजिक सन्देश दिने गरेका छन्। उनका गीतहरू भ्रष्टाचार, बेरोजगारी, असमानता तथा राजनीतिक विकृतिविरुद्ध केन्द्रित छन्।
संविधानसभापछिको अवस्थादेखि नै सक्रिय रहेका शाहले “म नेपाल हाँसेको हेर्न चाहन्छु” गीतमार्फत देशप्रतिको भावना व्यक्त गरेका थिए।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनप्रति समर्थन जनाएका शाहमाथि अब आन्दोलनले उठाएका माग सम्बोधन गर्ने र परिवर्तनको अपेक्षा पूरा गर्ने चुनौती रहेको छ।
प्रतिक्रिया दिनुहोस्