Advertisement GIF
सेनाको प्रष्टोक्ति : विपद् प्रतिकार्यका लागि तथ्याङ्क संकलन

नेपाली सेनाले यस वर्षको वर्षा सुरु हुन लागेको समयमा विपद्मा खोज, उद्धार र प्रतिस्थापनका लागि जोखिम नक्साङ्कन र तथ्याङ्क संकलन भइरहेको जनाएको छ ।

नेपाली सेनाले नजिकिँदै गरेको वर्षातको समयमा हुन सक्ने सम्भावित विपद्का घटनाहरूलाई मध्यनजर गर्दै पूर्व तयारीका कार्यहरूलाई तीव्र पारेको छ। विगतका वर्षहरूमा भएका बाढी, पहिरो, डुबान र नदी कटान जस्ता प्राकृतिक प्रकोपबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सेनाले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरिरहेको सैनिक मुख्यालयले जनाएको छ।

विपद् प्रतिकार्य योजना अन्तर्गत हाल नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षा फौज परिचालन गरी उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यहरूलाई प्रभावकारी बनाउने लक्ष्य राखेको र त्यसका लागि अध्ययन र तथ्याङ्क अध्यावधिक भैरहेको पनि सेनाको भनाइ छ ।

पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा सुकुम्बासीहरूको विवरण माग गरिएको सम्बन्धमा उठेका जिज्ञासाहरूबारे स्पष्ट पार्दै सेनाले यो कार्य नितान्त विपद् व्यवस्थापनसँग सम्बन्धित रहेको जनाएको छ। सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गर्न र जोखिम नक्साङ्कन गर्नका लागि आवश्यक तथ्याङ्कहरू अध्यावधिक गर्ने काम भइरहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सेनाले वर्षातको समयमा हुने बाढी र पहिरोको जोखिम न्यूनीकरण गर्न, खोज तथा उद्धार कार्यका लागि फौजलाई तयारी अवस्थामा राख्न, प्रभावित क्षेत्रको जोखिम नक्साङ्कन गरी पूर्व तयारीलाई बलियो बनाउन र विपद्को समयमा छिटो र छरितो राहत तथा पुनःस्थापनाका कार्यहरू सञ्चालन गर्नलाई तयारी अवस्थामा रहेको पनि उल्लेख गरेको छ ।

नेपाली सेनाले नागरिकको जिउधनको सुरक्षाका लागि सधैँ तत्पर रहेको र विपद् व्यवस्थापनका लागि वैज्ञानिक ढंगले तथ्याङ्क संकलन र विश्लेषणको कार्यलाई अघि बढाएको जानकारी गराएको छ।