म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । उनले श्रीमतिको नाममा ३ तोला सुन रहेको कास्कीको पोखरा ७, माझठानामा करिव २८ रोपनी जग्गा र नेपाल बैंक र राष्ट्रिय वाणिज्य वैंकमा करिव २९ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । उनले नगद रुपैयाँ गत फागुन २१ मा भएको निर्वाचनमा सहयोगीले दिएको रकम बचत भएको पनि उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खास गरी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपार्यो भन्ने विद्वानहरू र रीस गर्ने व्यक्तिहरूले यो हेर्नु होला र छानबिन गर्नु होला, ‘उनले लेखेका छन्, ‘यो विवरण मैले शिक्षा मन्त्री हुँदा पनि बुझाएको थिएँ तर उति बेलाको सरकारले सार्वजनिक गरिदिएन । त्यसैले सङ्घीय संसद् सचिवालयले पनि सार्वजनिक गरिदिँदैन कि भन्ने शंका लागेर यो विवरण आजको मितिमा सचिवालयलाई बुझाउनुभन्दा पहिले नै म आफैंले सार्वजनिक गरेको हुँ ।’
भौतिक सम्पत्तिबाहेक आफ्नो अभौतिक र मूल्यांकन गर्न नसकिने अमूल्य तथा असीमित सम्पत्ति रहेको उनले बताएका छन् । अभौतिक र मूल्यांकन गर्न नसकिने सम्पत्ति देश विदेशमा बसोबास गर्ने असंख्य सहयोगीहरू रहेका उनको भनाइ छ । यी भौतिक सम्पत्तिबाहेक मेरो अभौतिक र मूल्यांकन गर्न नसकिने अमूल्य र असीमित सम्पत्ति भनेका देश विदेशमा बसोबास गर्ने मेरो असंख्य सहयोगीहरू हुन्, उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्