सल्यान जिल्लाको शारदा नगरपालिका– ३, खलङ्गास्थित जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा शङ्कास्पद वस्तुहरू फेला परेका छन्।
तीन दिनअघि भवनको जग खन्नेक्रममा विष्फोटक पदार्थहरू फेला परेपछि स्थानीय स्तरमा त्रास फैलिएको थियो। विसफोटक पदार्थ फेला परेपछि नेपाली सेनाको सिद्धिबक्स गणबाट विशेषज्ञ बम डिस्पोजल टोली तत्काल कार्यस्थलमा खटिएको थियो। सेनाको टोलीले उक्त इलाकालाई पूर्ण रूपमा सुरक्षित राख्दै सघन खोजतलास र एरिया क्लियरेन्स अपरेसन सञ्चालन गरेको थियो।
त्यस क्रममा फेला परेका ९४ वटा आईइडी, ५ सय ग्राम विस्फोटक पदार्थ, करिब २ केजी फलामका टुक्रा र १० मिटर फायरिङ केबललाई सेनाको टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको सैनिक मुख्यालयले जनाएको छ। सेनाको सक्रियता र समयमै गरिएको व्यवस्थापनले गर्दा हुन सक्ने ठूलो दुर्घटना टरेको छ भने अहिले उक्त निर्माण स्थल र आसपासको क्षेत्र सुरक्षित रहेको छ।
माओवादी जनयुद्धको समय २०५१ देखि २०६१ ताका यी विस्फोटक पदार्थ राखिएको अनुमान छ । तर, माओवादी वा सुरक्षाकर्मी कसले राखेको भन्ने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्