Advertisement GIF
कल्पवृक्ष
वैशाख २७ आइतबार, ४:२६ अपराह्न
होटल व्यवसायी महासंघमा निर्वाचितलाई प्रमाणपत्र वितरण

हालै भएको निर्वाचनमा निर्वाचित होटल व्यवसायी महासंघ, नेपालका पदाधिकारी एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । देशभरबाट काठमाडौंमा जम्मा भएका होटल व्यवसायीहरुलाई एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

वागमती प्रदेशका पर्यटन मन्त्री सुरेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वस्तुगत तर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, नेपाल पर्यटन बोर्डका कामु सिइओ हिक्मतसिंह ऐर गायतको उपस्थितिमा उनहिरुलाई प्रमाणपत्र वितरण गरियो ।

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष टिआर भण्डारी (शंकर) ले नीतिगत सुधारका लागि सशक्त आवाज उठाउने र महासंघलाई अझै सशक्त एवं प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि सबै संघसंस्थासँगको सहकार्यमा काम गर्ने प्रतिवद्धता जनाए ।

पर्यटन बोर्डका कामु सिइओ ऐरले महासंघसँगको सहकार्यमा काम गर्न पर्यटन बोर्ड तयार रहेको भनाइ राखे । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले होटल व्यवसायीलाई उद्योग सरहको सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे । उनले अनावश्यक झन्झट हटाइदिन पनि सरकारसँग माग गरे ।

वागमती प्रदेशका पर्यटन मन्त्री सुरेश श्रेष्ठले पर्यटन व्यवसायीका समस्या समाधान गर्न एकद्वार प्रणालीबाट अगाडि बढ्न सक्ने स्थितिमा लैजान आफूले कदम चाल्ने आश्वासन दिए । कार्यक्रममा महासंघका प्रदेश एवं जिल्लाका अध्यक्षहरु र अन्य वक्ताले पर्यटन प्रवद्र्धनमा जोड दिएका थिए ।