Advertisement GIF
महिला उद्यमी कमलाको प्रेरक यात्रा : ५६ हजार महिलालाई सीप सिकाउँदै आत्मनिर्भरताको अभियान

मकवानपुरको हेटौँडामा जन्मिएर हाल काठमाडौँको कलङ्कीमा ‘सृजनशील क्रिस्टल हस्तकला उद्योग’ सञ्चालन गर्दै आएकी कमला सुवेदी नेपाली हस्तकला, महिला उद्यमशीलता र सीप विकासको क्षेत्रमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएकी छन्। विगत तीन दशकभन्दा लामो समयदेखि हस्तकला र महिला सशक्तीकरणको अभियानमा निरन्तर क्रियाशील सुवेदीले व्यवसायलाई केवल आर्थिक लाभको माध्यममा सीमित नराखी सामाजिक रूपान्तरण र महिला आत्मनिर्भरतासँग जोडेर अघि बढाएकी छन्।

ढुङ्गा, क्रिस्टल, मुगा, माला, श्रृङ्गारका सामग्री, जुत्ता, ढाकाका उत्पादन, घरेलु सामग्री, अचार तथा विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै आएकी सुवेदीले नेपाली मौलिकता र सीपलाई बजारसँग जोड्ने उल्लेखनीय काम गरिरहेकी छन्। उनी आफ्नो व्यवसायको सबैभन्दा ठूलो उपलब्धि पैसा नभई समाजबाट प्राप्त सम्मान, आत्मसन्तुष्टि र महिलाहरूको जीवनमा आएको परिवर्तन भएको बताउँछिन्।

हाल बागमती प्रदेश हस्तकला सङ्घको उपाध्यक्ष तथा सृजनशील महिला विकास केन्द्रको अध्यक्षको जिम्मेवारीमा रहेकी सुवेदीले नेतृत्वदायी भूमिकामार्फत हजारौँ महिलालाई उद्यमशीलताको मार्गमा अघि बढाउने कार्य गरिरहेकी छन्। उनले ‘नेपाली हुनुमा गौरव गरौँ, नेपाली वस्तुको प्रयोग गरौँ’ भन्ने नारालाई व्यवहारमै लागू गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धनमा विशेष जोड दिँदै आएकी छन्।

कमला सुवेदीको जीवनको मुख्य उद्देश्य महिलाहरूलाई दक्ष, सीपयुक्त र आत्मनिर्भर बनाउनु हो। यही उद्देश्यका साथ उनले नेपालका अधिकांश जिल्लाहरूमा पुगेर महिलाहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिसकेकी छन्। नेपाल सरकारका विभिन्न निकाय, उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह तथा विभिन्न पालिकासँगको सहकार्यमा उनले हालसम्म सयौं महिलालाई सीपमूलक तालिम प्रदान गरिसकेकी छन् भने अब ५६ हजारलाई तालिम दिने योजनाअनुसार अघिबढेकी छन् ।

उनले सञ्चालन गर्ने तालिमहरू केवल सामान्य हस्तकलामा सीमित छैनन्। दैनिक जीवनमा प्रयोग हुने सामग्रीदेखि बहुमूल्य गरगहना निर्माणसम्मका सीपहरू महिलालाई सिकाइँदै आएको छ। क्रिस्टलका माला, मुगा, चुरा, ढाकाका सामग्री, हस्तनिर्मित जुत्ता, अर्गानिक साबुन, घर सजावटका सामग्री, कुसन, चकटी, सुकुल, गुन्द्री, बाबियो तथा खरबाट निर्मित सामग्रीलगायतका विविध उत्पादनमा महिलाहरूलाई व्यावसायिक सीप प्रदान गरिँदै आएको छ।

विशेषगरी गाउँघरमा सजिलै पाइने घाँस, बाबियो, खर, झारपात तथा खोलानाला र बगर आसपास पाइने प्राकृतिक स्रोतहरूको उपयोग गरेर आयआर्जन गर्न सकिने सीप विकासमा उनले जोड दिँदै आएकी छन्। फालिने वस्तु र प्राकृतिक स्रोतलाई उपयोग गरेर उत्पादन गरिने हस्तकलाका सामग्रीले वातावरण संरक्षणसँगै ग्रामीण महिलाको आर्थिक सशक्तीकरणमा समेत टेवा पुर्‍याइरहेको छ।

सुवेदीका अनुसार महिलाले सीप सिकेपछि उनीहरू आत्मनिर्भर बन्ने मात्र होइन, घरेलु हिंसा, आर्थिक परनिर्भरता र सामाजिक विभेदबाट समेत मुक्त हुन सक्ने आधार तयार हुन्छ। त्यसैले उनले ‘एक घर, एक उद्यमी महिला’ को अवधारणालाई अभियानकै रूपमा अघि बढाएकी छन्। उनका अनुसार घरमा एक महिला आत्मनिर्भर बन्न सके पूरा परिवारको आर्थिक अवस्था परिवर्तन हुन सक्छ र त्यसको सकारात्मक प्रभाव समाज हुँदै देशको समग्र विकासमा देखिन्छ।

अहिले पनि उनी दैनिकजसो तालिम, गोष्ठी, अन्तरक्रिया तथा सीप हस्तान्तरण कार्यक्रममा व्यस्त रहने गर्छिन्। काठमाडौँ महानगरपालिका, टोखा नगरपालिका, सूर्यविनायक नगरपालिका लगायतका विभिन्न स्थानीय तहमा उनका तालिम कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। बझाङ, बाजुरा, डोटी जस्ता दुर्गम जिल्लासम्म पुगेर महिलाहरूलाई घरदैलोमै सीप सिकाउनु उनको अभियानको अर्को महत्त्वपूर्ण पक्ष हो।

दुर्गम भेगका महिलाहरूले अवसरको अभावमा आफ्ना क्षमता उपयोग गर्न नपाएको महसुस गर्दै उनी आफैँ गाउँगाउँ पुगेर तालिम सञ्चालन गर्ने गरेको बताउँछिन्। उनका अनुसार ग्रामीण महिलामा सीप र क्षमता प्रशस्त भए पनि बजार, प्रविधि र अवसरसँग जोड्न नसक्दा उनीहरू पछाडि परेका छन्। यही खाडल पूरा गर्न आफू निरन्तर लागिरहेको उनको भनाइ छ।

उनको योगदानको कदर गर्दै राज्य तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सङ्घसंस्थाले सम्मानसमेत गरेका छन्। वि।सं। २०८० मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत ‘राष्ट्रपति अवार्ड’ बाट सम्मानित हुनु उनको जीवनको एक विशिष्ट उपलब्धि मानिन्छ। यसअघि सन् २०१४ मा उद्योग मन्त्रालयबाट समेत सम्मानित भएकी सुवेदीलाई लायन्स क्लब इन्टरनेसनल ३२५ एच लगायतका विभिन्न सामाजिक तथा व्यावसायिक संस्थाहरूले दर्जनौँ सम्मान प्रदान गरिसकेका छन्।

लायन्स क्लबमा सीप विकास समितिको सभापतिका रूपमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेकी सुवेदीले सामाजिक सेवासँगै उद्यमशीलता विकासलाई सँगसँगै अघि बढाइरहेकी छन्। महिलालाई केवल तालिम दिएर छाड्ने नभई उत्पादन, बजारीकरण र आत्मविश्वास विकाससम्मको सहजीकरण गर्नुपर्नेमा उनी जोड दिन्छिन्।

हस्तकला क्षेत्रको प्रवर्द्धन तथा अध्ययन अवलोकनका क्रममा उनले जापान, चीन, भूटान, श्रीलंका, बंगलादेश र भारतलगायत विभिन्न देशको भ्रमण गरिसकेकी छन्। ती देशहरूमा आयोजना भएका मेला, महोत्सव तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता जनाउँदै उनले नेपाली हस्तकलाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने प्रयास गरेकी छन्। विदेश भ्रमणबाट सिकेका अनुभवलाई नेपालमा प्रयोग गर्दै महिलाहरूलाई आधुनिक सोच र बजारमुखी सीप सिकाउन उनले निरन्तर प्रयास गरिरहेकी छन्।

उनका अनुसार नेपालमा हस्तकलाको अपार सम्भावना भए पनि राज्यको पर्याप्त सहयोग, बजार व्यवस्थापन, प्रोत्साहन र नीतिगत सहजीकरणको अभाव छ। यदि राज्यले महिला उद्यमीहरूलाई सहुलियत, प्रविधि, बजार र तालिममा थप सहयोग गर्ने हो भने हजारौँ महिलाले स्वरोजगार सिर्जना गर्न सक्ने उनी बताउँछिन्।

प्राकृतिक स्रोत, मौलिक संस्कृति र परम्परागत सीपलाई आधुनिक बजारसँग जोडेर हस्तकलालाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनाउन सकिने उनको विश्वास छ। हस्तकला केवल सजावटको वस्तु नभई नेपाली संस्कृति, पहिचान र श्रमको प्रतिनिधित्व गर्ने माध्यम भएको उनको धारणा छ।

आगामी दिनमा अझ धेरै महिलालाई सीप हस्तान्तरण गर्दै स्वावलम्बी बनाउने लक्ष्यका साथ आफू निरन्तर लागिरहने बताउने कमला सुवेदी अहिले नेपाली महिला उद्यमशीलताको एक सफल, प्रेरणादायी र संघर्षशील उदाहरणका रूपमा चिनिएकी छन्। उनले थालेको अभियानले हजारौँ महिलाको जीवनमा परिवर्तन ल्याएको मात्र छैन, नेपाली हस्तकलाको गरिमा र पहिचानलाई पनि नयाँ उचाइमा पुर्‍याएको छ।