आगामी २०८४ सालको स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र तीव्र चर्चा सुरु भएको छ। २०८२ को आम निर्वाचनमा रास्वपाले हासिल गरेको सफलता र बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेपछि काठमाडौं महानगरको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय अहिले राजनीतिक वृत्तको मुख्य चासो बनेको हो।

अमृत लामा
रास्वपा स्रोतका अनुसार काठमाडौं महानगरको मेयर पदका लागि पार्टीभित्र र बाहिरबाट विभिन्न युवा तथा नयाँ पुस्ताका अनुहारहरूले दाबेदारी प्रस्तुत गरिरहेका छन्। प्रारम्भिक रूपमा चर्चामा आएका सम्भावित उम्मेदवारहरूमा अमृत लामा, सुनिता डंगोल, राजन त्रिपाठी, कृति शाह र देवेन्द्रदेव शाह रहेका छन्।
पछिल्लो समय विशेषगरी कालाकारसमेत रहेका र नेपाली ग्लोबल इन्टरनेशनलका अध्यक्ष अमृत लामा , हालकी उपमेयर सुनिता डंगोलको नामलाई बलियो दाबेदारका रूपमा हेरिएको छ। रास्वपाले भने अन्तिम उम्मेदवार चयनका लागि ‘प्राइमरी इलेक्सन’ प्रणाली अपनाउने तयारी गरेको बताइएको छ। पार्टीभित्र लोकप्रियता, क्षमता र सार्वजनिक छविका आधारमा उम्मेदवार छनोट गरिने नेताहरूको भनाइ छ।
रास्वपाले ‘परिवर्तनको लागि, विकासको लागि, नयाँ नेपालको लागि’ भन्ने नारासहित काठमाडौं केन्द्रित अभियानलाई तीव्र बनाएको छ। बालेन शाहले सुरु गरेका विकास योजना, सुशासन अभियान र महानगर सुधारका कामलाई निरन्तरता दिने नेतृत्व आवश्यक रहेको भन्दै समर्थकहरूले सामाजिक सञ्जालमा प्रचारसमेत सुरु गरिसकेका छन्। प्रधानमन्त्री बालेनसित निकट रहेका भनिएका चलचित्रकर्मीसमेत रहेका लामालाई मुख्य दावेदारका रुपमा हेरिएको एक जेनजी समूहका युवाको भनाइ छ ।
काठमाडौं महानगरको निर्वाचनलाई यसपटक केवल स्थानीय चुनावका रूपमा मात्र नभई राष्ट्रिय राजनीतिको संकेतका रूपमा पनि हेरिएको छ। रास्वपाको बढ्दो प्रभाव, प्रधानमन्त्री बालेन शाहको लोकप्रियता र वैकल्पिक राजनीतिको लहरका कारण महानगरको चुनाव निकै रोचक बन्ने देखिएको छ।
अब प्रश्न उठेको छ— रास्वपाले अन्ततः कसलाई काठमाडौं महानगरको मेयर उम्मेदवार बनाउनेछ ? त्यसको उत्तर भने पार्टीको औपचारिक निर्णयपछि मात्रै स्पष्ट हुनेछ।
प्रतिक्रिया दिनुहोस्