Advertisement GIF
नेपाली सेनाले मनायो, अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवस

नेपाली सेनाले काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा एक विशेष कार्यक्रमका साथ अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवस मनाइएको छ। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने र हाल कार्यरत रहेका शान्ति सैनिकहरूको अमूल्य योगदानको सम्मानमा हरेक वर्ष मे २९ का दिन यो दिवस मनाउने गरिन्छ।

समारोहमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले शान्ति मिसन इलाकामा कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने २ जना नेपाली सैनिकका परिवारलाई विशेष सम्मान पत्र प्रदान गर्नुभएको थियो। यसैगरी, विश्व शान्ति स्थापना कार्यमा खटिएर उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना शान्ति सैनिकलाई समेत कदर पत्रद्वारा सम्मानित गरिएको थियो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाद्वारा जारी विज्ञप्ति अनुसार यस विशेष समारोहमा रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवं उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी स्थानीय जनप्रतिनिधिहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू तथा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक र अन्य दर्जाका सकलदर्जाहरूको व्यापक उपस्थिति रहेको थियो।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९५८ देखि निरन्तर शान्ति सैनिक खटाउँदै आएको नेपाल हाल विश्वमै सबैभन्दा बढी शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहन सफल भएको छ। हाल संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत विश्वका विभिन्न ९ वटा मिसनहरूमा नेपाली सेनाका ४ हजार १७९ जना शान्ति सैनिक अग्रपंक्तिमा रहेर कार्यरत छन्। विश्वमा शान्ति बहाली गर्ने यसै गौरवमय सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरूले आफ्नो अमूल्य जीवन बलिदान दिँदै वीरगति प्राप्त गरिसकेका छन् भने ७७ जना सैनिकहरू घाइते भएका छन्। सैनिकहरूको यो सर्वोच्च त्याग र समर्पणले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपाली सेनाको शिर सधैँ उच्च राखेको छ।