सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीका आधारभूत शेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने तथा उपनिर्देशक पदम प्रसाद सोडारीले सहजीकरण गर्नुभएको थियो। सो अवसरमा वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा र बीमा क्षेत्रको भूमिका सम्बन्धमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो।
छलफलमा सञ्चालक समिति, आधारभूत शेयरधनी तथा उच्च व्यवस्थापनको भूमिका र जिम्मेवारी, AML/CFT नीति तथा कार्यविधिको कार्यान्वयन, जोखिममा आधारित दृष्टिकोण (Risk-Based Approach) को अवलम्बन, संस्थागत जोखिम मूल्याङ्कन, सुशासन तथा प्रभावकारी निगरानी प्रणाली, र नियामकीय प्रतिवेदन व्यवस्थापन लगायतका विषयहरू समेटिएका थिए। त्यसैगरी सीमा पार वित्तीय कारोबारको निगरानी, बीमा तथा पुनर्बीमा कोषको प्रभावकारी नियन्त्रण, अन्तर्राष्ट्रिय मापदण्ड तथा Insurance Core Principle (ICP)–22 को पालना, लाभग्राही स्वामित्व (Beneficial Ownership) सम्बन्धी पारदर्शिता, स्वार्थको द्वन्द्व न्यूनीकरण, र शंकास्पद कारोबार प्रतिवेदन (STR/SAR) प्रणालीको प्रभावकारी कार्यान्वयन जस्ता महत्त्वपूर्ण विषयहरूमा पनि विस्तृत अन्तर्क्रिया भयो।
कार्यक्रमको उद्घाटन सत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा नियामकीय अनुपालनलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमको समापन गर्दै कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सफल बनाउन बीमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले सिटिजन लाइफले नेपाल सरकार, नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित नियामक निकायहरूले जारी गरेका कानुनी तथा नियामकीय व्यवस्थाहरूको पूर्ण पालना गर्दै वित्तीय प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कम्पनीले AML/CFT सम्बन्धी मापदण्ड, सुशासन, जोखिम व्यवस्थापन तथा पारदर्शी व्यावसायिक अभ्यासलाई उच्च प्राथमिकतामा राखी कार्य गर्ने र भविष्यमा समेत संस्थागत अभ्यासलाई थप सुदृढ बनाउन यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्