-डा.आश बहादुर तामाङ
टन्टलापुर घाम खपेर
शीतल छहारी दिने,
धुवाँ, धुलो र प्रदूषण पिएर
प्राणवायु अक्सिजन दिने-
वृक्षमा म आमाको माया देख्छु।
हावा, हुरी र वर्षा सहेर
बटुवा र भरियालाई ओत दिने,
चट्टान फोरेर जरा फैलाउँदै
पानीका मुहान जोगाइदिने,
धर्तीलाई अँगालो हालेर
पहिरो, चिरा फाट्नबाट रोक्ने-
वृक्षमा म आमाको शक्ति देख्छु।
ऋतुसँगै बदलिँदै,
हिउँदमा पातविहीन कठ्याङ्ग्रिँदै,
वसन्तमा नयाँ पालुवा चढाउँदै,
फलफूलको सुगन्ध र हरियाली फैलाउँदै,
झटारो मात्र होइन,
छिमल्दा र फाँड्दा पनि
आँसी र बन्चरोको चोट सहेर
फेरि पलाउने-
वृक्षमा म आमाको सहनशीलता देख्छु।
सिर्सिरे हावामा पात गुन्गुनाउँदा,
हाँगा–डालीमा चराचुरुङ्गी
गीत गाउँदै गुँड बसाउँदा,
सबैलाई निःस्वार्थ बास दिने
मौन र अडिग भएर
दुःख–कष्ट सहँदै
पृथ्वीलाई जीवन्त राख्ने
सृष्टीको धड्कन बन्ने
तिमीमा म आमाको महानता देख्छु
साँच्चै,
वृक्षमा म नारीको स्वरूप देख्छु,
वृक्षमा म आमाको प्रतिविम्ब देख्छु।
(लमजुङ)
प्रतिक्रिया दिनुहोस्