इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको आधिकारिक पुष्टि भएको छ। इरानको सरकारी टेलिभिजनले आइतबार विशेष प्रसारणमार्फत खामेनीको मृत्युबारे जानकारी दिँदै देशभर ४० दिन राष्ट्रिय शोक मनाइने घोषणा गरेको हो।
सरकारी टेलिभिजनका प्रस्तोताले भावुक हुँदै खामेनीको निधनको खबर सुनाएका थिए। उनको स्वास्थ्य अवस्थाबारे विगत केही समयदेखि विभिन्न अड्कलबाजी चलिरहे पनि आधिकारिक पुष्टि पहिलोपटक गरिएको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको दाबी गरेका थिए। उनले लेखेका थिए, “इतिहासका सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक खामेनी अब जीवित छैनन्।”
शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा आक्रमण गरेको पृष्ठभूमिमा आएको यस घटनाले क्षेत्रीय तनाव झन् बढ्ने आकलन गरिएको छ। खामेनीको निधनपछि इरानको सत्ता हस्तान्तरण प्रक्रिया र आगामी राजनीतिक दिशा कस्तो हुने भन्नेबारे अन्तर्राष्ट्रिय समुदायको चासो केन्द्रित भएको छ।
प्रतिक्रिया दिनुहोस्